पोखरामा आत्मदाहको प्रयास गर्दा दुईजना घाइते
रासंसा/कास्की, माघ १५,
मुलुकमा पोखरामा आफैलाई आगो लगाएर ज्यान फाल्ने प्रयास गर्दा एकजना महिला र अर्का एकजना पुरुष गरि दुईजना घाइते भएका छन्। पोखरा महानगरपालिका–१३, काँहुखोलामा आगलागीले जलिरहेका दुइजनालाई प्रहरीले उद्धार गरेर उपचारार्थ अस्पताल पु¥याएको थियो। आगो लगाएर जल्नेमा एकजना महिला र अर्का एकजना पुरुष रहेका छन्। ‘पुरुषले पहिला शरिरमा आगो लगाएको देखिएको छ। त्यो आगो निभाउन जाने क्रममा महिला पनि जल्न पुगेकी हुन,’ उनले भने, ‘आफैले आफैलाई आगो लगाउनुको कारण खुलेको छैन।’ आफैले आफैलाई आगजनी गरेका उनीहरु फरक परिवारका सदस्य रहेको प्रहरीले बताएको छ। गोपनियताका लागि प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुवास तिमिल्सेनाका अनुसार आत्मदाहको प्रयास गर्दै आफ्नै शरिरमा आगजनी गरेको अवस्थामा उनीहरुलाई प्रहरीले उद्धार गरेको हो। आगोले जलिरहेको बेला उनीहरुलाई उद्धार गरेर अस्पताल पु¥याइएको उनले बताए। आगलागीबाट जलेका दुवैजनाको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पतालका एकजना चिकित्सकका अनुसार महिलाको अवस्था गम्भिर छ। महिलाको करिब ९० प्रतिशत भाग जलिसकेको ती चिकित्सकले बताए। पुरुषको भने करिब २५ प्रतिशत मात्र भाग जलेको छ। पोखरा–१३ का अध्यक्ष किरण बरालका अनुसार आगजनीमा परेकी महिलाको घरमा पुरुष भाडामा बस्दै आएका थिए। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ। घाइतेको उपचार भईरहेको छ,’ बरालले भने, ‘पेट्रोल छर्केर आगजनी गरेको बुझिएको छ। आगलागीको कारण खुलेको छैन।’ ‘महिलाको अवस्था गम्भिर हो, पुरुष बोल्न सक्ने अवस्थामा छन,’ ती चिकित्सकले भने। ती चिकित्सकले पनि पहिला पुरुषले आफुलाई आगो लगाएको र महिलाले निभाउन जाने क्रममा महिलाको शरिरमा आगो सल्केको थियो।