एउटै चिन्हबाट गठबन्धन दलले चुनाव लड्न पाउने
रासंसा/काठमाण्डौ, श्रावण २०,
मुलुकमा निर्वाचन आयोगले संघ र प्रदेशको चुनावमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो। ‘दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१३ बमोजिमको ढाँचामा दिनुपर्ने व्यवस्था गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ। त्यस्तो दल दर्ताको लागि निवेदन दिँदा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र प्रतिबद्धतापत्र समेत पेस गर्नुपर्ने आयोगले जनाएको छ।