राप्रपा प्रमुख सचेतक तामाङको थापालाई दिइएको समर्थनलाई मान्यता नदिन पत्राचार
रासंसा/काठमाण्डौ, भाद्र ३,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक कुमारी तामाङले मनोमानी ढङ्गबाट निजी लेटर प्याडमा दिइएको अनधिकृत समर्थनलाई मान्यता नदिन भन्दै बागमती प्रदेशका प्रमुख दीपकराज भट्टलाई पत्राचार गरेकी छन् । सचेतक तामाङले बुधबार प्रदेश प्रमुख भट्टलाई पत्राचार गरेकी हुन् । उनले पत्रमा भनेकी छन्– ‘संसदीय दलको बैठक विना नै मनोमानी ढङ्गले राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका बागमती प्रदेशसभाका सदस्य किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरी प्रदेश प्रमुख समक्ष संसदीय दलका नेताले व्यक्तिगत लेटरप्याड प्रयोग गरी पत्र बुझाएको कुरा सञ्चारमाध्यमबाट जानकारी पाउँदा आश्चर्यचकित भएका छौँ ।’उनले पत्रमा संसदीय दलको बैठक नबसी मनोमानी ढङ्गबाट निजी लेटर प्याडमा दिइएको अनधिकृत समर्थनलाई मान्यता नदिन आग्रह गरेकी छन् । बुधबार केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गरेका थिए ।

