काठमाडौंकाे मेयरमा बालेन र उपमेयरमा सुनिता अग्रस्थानमा
रासंसा/काठमाण्डौ, बैशाख ३१,
मुलुकमा काठमाडौं महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उनले ४०२ मत प्राप्त गरेका हुन्। सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन्। उनी साहभन्दा ८३ मतले पछि छन्। गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छन्। उनी साहभन्दा २०० मतले पछाडि छन्। राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन्। यस्तै महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएकी छन्। सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छन्। यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन्। अहिले काठमाडौं महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौंका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए। काठमाडौं महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो।