चूडामणि शर्मा कण्डेल परमानन्द संस्कृत गुरुकुल देवघाटको प्रधानाध्यापकमा नियुक्त
पुष्पराज खतिवडा/तनहुँ मार्ग ३
मुलुकमा तनहुँ जिल्लाको देवघाटधाम स्थित श्रीहरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित परमानन्द संस्कृत गुरुकुलमको प्रधानाध्यापक पदमा शिक्षाविद् एवं विद्वान् चूडामणि शर्मा कण्डेल नियुक्त हुनुभएको छ । परमानन्द संस्कृत गुरुकुल रामकोटका पूर्वछात्र समेत रहनुभएका कण्डेल हालै मात्र नेपाल सरकारको सफल प्रधानाध्यापकको रूपमा सेवा निवृत्त हुनुभएको थियो । शैक्षिक, सामाजिक तथा धार्मिक क्षेत्रमा विशिष्ट पहिचान बनाएका कण्डेल कालिका संस्कृत विद्यापीठका संस्थापक प्राचार्य समेत हुनुहुन्छ । यसअघि उहाँले कालिका माध्यमिक विद्यालयको प्रथम सहायक प्रधानाध्यापक एवं उच्च माध्यमिक तहको प्रथम कार्यक्रम संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वहन गरिसक्नु भएको छ । त्यस्तै, कावासोतीस्थित शिव माध्यमिक विद्यालय र गैँडाकोटस्थित जनक माध्यमिक विद्यालयलाई ‘नमुना माध्यमिक विद्यालय’ का रूपमा स्थापित गराउन उहाँको महत्वपूर्ण नेतृत्वदायी भूमिका रहेको थियो ।

कण्डेलको नियुक्तिप्रति आश्रम परिवारले हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ । आश्रमका पिठाधिश ज्ञानानन्द सरस्वती जी महाराजले नवनियुक्त प्रधानाध्यापक कण्डेललाई बधाई ज्ञापन गर्दै अनुभवी एवं कुशल प्रशासकको नेतृत्व प्राप्त भएसँगै परमानन्द संस्कृत गुरुकुलको भौतिक तथा शैक्षिक गुणस्तरमा थप प्रगति हुने र आश्रमको सर्वाङ्गीण विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।
