संघर्ष, अनुशासन र गौरवगाथा: फ्रान्स आर्मीमा श्रीराम रानाभाटको प्रेरणादायी यात्रा

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
सूचना ब्युरो
नेपाल तनहुँ — तनहुँको ऋषिङ गाउँपालिका–४, सिरकोटका श्रीराम रानाभाट फ्रान्सेली सेना (फ्रान्स आर्मी) मा सिपाहीबाट लेस नायक (Lance Corporal) हुँदै हाल नायक (Corporal / सहायक हवल्दार) पदमा पुग्न सफल हुनुभएको छ। विष्णुप्रसाद रानाभाट र जुनमाया रानाभाटको कोखबाट जन्मिनुभएका उहाँले भर्ती भएको २ वर्ष ३ महिनामै कठिन सैन्य तालिम र जिम्मेवारी पूरा गरी हासिल गर्नुभएको यो प्रगतिलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको शान र गौरवसँग जोडिएको प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ।
बाल्यकालदेखि नै अनुशासित जीवन र सैन्य सेवामा आबद्ध हुने सपना बुन्नुभएका रानाभाटले अनेकौँ चुनौती, भाषागत तथा शारीरिक कठिनाइ र संघर्ष पार गर्दै आफ्नो लक्ष्य भेट्टाउनुभएको हो। सामान्य पारिवारिक परिवेशबाट अगाडि बढेर अन्तर्राष्ट्रिय सैन्य सेवामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सफल उहाँको यात्रा मेहनत, धैर्य र अटल सङ्कल्पको जीवन्त उदाहरण बनेको छ।
नेपालका युवायुवतीहरूलाई विशेष सन्देश दिँदै रानाभाटले विदेशको भूमिमा पनि इमानदारी, अनुशासन, लगनशीलता र क्षमताले उच्च स्थान हासिल गर्न सकिने बताउनुभएको छ। उहाँले प्रवासमा रहँदा पनि आफ्नो जन्मभूमि, संस्कृति र नेपाली पहिचानको गरिमालाई उच्च राख्दै आत्मनिर्भर र सम्मानित जीवन निर्माण गर्न सकिने प्रेरणादायी सन्देश दिनुभएको छ।
ऋषिङको माटोबाट उठेका एक युवाले विदेशी भूमिमा देखाएको साहस, निरन्तरको प्रगति र अनुशासनले आमाबुबा तथा परिवारजनसहित सिंगो ऋषिङ, तनहुँ र देश–विदेशमा रहेका नेपालीहरूलाई गौरवान्वित बनाएको छ। उहाँको यो यात्राले स्वदेशमै होस् वा परदेशमा, परिश्रम र धैर्य राख्ने युवाहरूलाई आफ्नो लक्ष्यप्रति अडिग रहन थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ।
