तनहुँमा ठूलो परिमाणमा लागू औषध सहित एकजना प्रहरी नियन्त्रणमा

अन्जनराज न्यौपाने गण्डकी प्रदेश
तनहुँ
तनहुँमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी गाउँपालिका वडा नम्बर चार बेनिटारस्थित पृथ्वी राजमार्गमा सवारी जाँच गर्ने क्रममा नारायणगढबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसबाट उक्त परिमाणको लागुऔषध बरामद गरिएको हो।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ घर भई हाल वडा नम्बर १८ घाँटीछिना बस्ने पुरुषले लुकाएर ल्याएको फेनरागन, डाइजेपाम र नोफिन गरी जम्मा ६०० एम्पुल लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार, पक्राउ परेका व्यक्तिलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
लागुऔषधको यो कारोबार र सेवनले व्यक्ति, परिवार र समाजलाई नै गम्भीर क्षति पुर्याउने भएकाले यस्ता गैरकानूनी कार्यविरुद्ध सचेत रहन र सहयोग गर्न यो घटनाले सन्देश दिएको छ।
