नेपाली काँग्रेस म्याग्देको पद हस्तान्तरण: नवनिर्वाचित सभापति रानाद्वारा ६ बुँदे मार्गचित्र प्रस्तुत, निवर्तमान सभापतिको समीक्षा र उपविजेताको गम्भीर खबरदारी

म्याग्दे, तनहुँ समाचारदाता
नेपाली काँग्रेस म्याग्दे गाउँ कार्यसमितिको पद हस्तान्तरण तथा जिम्मेवारी ग्रहण समारोह भव्य रूपमा सम्पन्न भएको छ। निवर्तमान सभापति रामभक्त घिमिरे र नवनिर्वाचित सभापति नरसिं रानाको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निवर्तमान सचिव सुन्दरमणि अधिकारी र नवनिर्वाचित सचिव बालचन्द्र घिमिरेले गर्नुभएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि माया रानाले मन्तव्य राख्दै नवनिर्वाचित नेतृत्वलाई निवर्तमान सभापतिको अनुभव र उपविजेता श्रीभद्र आचार्यलाई साथमा लिएर अगाडि बढ्न विशेष सुझाव दिनुभयो। यसैगरी, कार्यक्रममा क्षेत्रीय सभापति जितराज राना, पूर्व जिल्ला सचिव बालकृष्ण घिमिरे लगायतका नेताहरूले मन्तव्य राख्दै आन्तरिक मतभेदहरूलाई थाती राखेर अब नेपाली काँग्रेस म्याग्देलाई थप सुदृढ र बलियो बनाउन सबै एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो।
सो अवसरमा बोल्दै नवनिर्वाचित सभापति नरसिं रानाले आफूलाई निर्वाचित गराउने सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो। उहाँले यो पदभारलाई व्यक्तिगत प्रतिष्ठाको विषय मात्र नबनाई पार्टी, लोकतन्त्र र म्याग्देका जनताप्रतिको गम्भीर जिम्मेवारीका रूपमा ग्रहण गरेको स्पष्ट पार्नुभयो। निवर्तमान सभापति रामभक्त घिमिरे नेतृत्वको अनुभव, सीप र क्षमतालाई सम्मान गर्दै, उपविजेता साथीहरूलाई साथमा लिएर समन्वयकारी भूमिका निर्वाह गर्ने तथा नयाँ पुस्ताको ऊर्जा संयोजन गरी पार्टीलाई सशक्त बनाउने उद्घोषका साथ उहाँले ६ बुँदे विशेष मार्गचित्र सार्वजनिक गर्नुभयो।
उक्त मार्गचित्रमा पार्टीभित्र आन्तरिक एकता र सहकार्य कायम गर्ने, संगठन विस्तार गर्दै क्रियाशील सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, युवा र महिलालाई नीति निर्माण तहमा अवसर दिने, स्थानीय समस्या तथा पूर्वाधार विकासमा जिम्मेवार भूमिका खेल्ने, निर्णय प्रक्रियामा पूर्ण पारदर्शिता र जवाफदेहिता अपनाउने तथा आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न जनतासँग नियमित संवादमा रहने योजनाहरू समावेश छन्। सभापति रानाले व्यक्तिगत पूर्वाग्रहभन्दा माथि उठेर साझा उद्देश्य प्राप्तिका लागि एकताबद्ध हुन सम्पूर्ण कार्यकर्ता पङ्क्तिलाई आह्वान समेत गर्नुभयो।
कार्यक्रममा निवर्तमान सभापति रामभक्त घिमिरेले आफ्नो कार्यकालको विस्तृत प्रगति विवरण प्रस्तुत गर्नुभयो। कोभिड–१९ को अत्यन्तै जटिल र त्रासपूर्ण परिस्थितिबीच जनताको सेवा गर्दै सुरु भएको आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको उहाँले बताउनुभयो। घिमिरेका अनुसार जीर्ण अवस्थामा रहेको बीपी स्मृति भवनको ७० हजार रुपैयाँ लागतमा मर्मत सम्भार, ३० हजार रुपैयाँको रोकिएको बिजुली महसुल भुक्तानी तथा भवन निर्माणका क्रममा श्रमिकहरूलाई दिन बाँकी रहेका बक्यौता रकमहरूमध्ये करिब ८० प्रतिशत रकम व्यक्तिगत पहलमा आफैँले तिरेर फरफारक गरिएको थियो। नवनिर्वाचित कार्यसमितिलाई आफूले कत्ति पनि आर्थिक ऋण नबोकाएको उल्लेख गर्दै उहाँले सिन्धुपाल्चोकका बाढीपीडितलाई ५१ हजार रुपैयाँभन्दा बढीको राहत रकम संकलन, सिहाले पयर खानेपानी आयोजना अघि बढाउन मन्त्रालयस्तरमा डेलिगेसन, युवाहरूलाई ४ दिने सीपमूलक तथा २ महिने निःशुल्क प्लम्बिङ र इलेक्ट्रिसियन तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो। तालिमपछि युवाहरूले दिएको सकारात्मक प्रतिक्रिया नै आफ्नो कार्यकालको मुख्य पुँजी रहेको बताउँदै उहाँले म्याग्दे–७ अद्चले ठाडो ढलान बाटो सम्झौता र पालिकामा सवारी साधन खरिदमा रोक लगाउने गरी गरिएको खबरदारीको स्मरण गर्नुभयो। आफू पदबाट बिदा भए पनि निष्ठा र सेवाको मैदानमा सधैँ सिपाही बनेर काँग्रेस सुदृढीकरणमा खटिरहने उहाँको भनाइ थियो।
यसैगरी, अधिवेशनका उपविजेता श्रीभद्र आचार्यले लोकतान्त्रिक प्रतिस्पर्धाको परिणामलाई आत्मसात् गर्दै विजयी टिमलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो। तर, उहाँले चुनावका क्रममा देखिएका अस्वस्थ विकृति, अवाञ्छित बाह्य हस्तक्षेप र धनबलको चर्को आलोचना गर्नुभयो। केवल ४ मतको झिनो अन्तरले पराजित हुनुभएका आचार्यले भूगोल, आर्थिक अवस्था र स्वाभिमानमाथि प्रहार गर्दै ‘दुर्गमको पाखे’ र ‘स्रोत-साधन नभएको’ भन्दै अपमानित गरिएकोमा गम्भीर दुःख व्यक्त गर्नुभयो। जिल्ला, प्रदेश र केन्द्रका नेताहरूले कार्यकर्ताको स्वतन्त्र विवेकमाथि अनुचित दबाब सिर्जना गरी मत प्रभावित पारेको आरोप लगाउँदै उहाँले पार्टी धन र डनको कब्जामा जान नहुने चेतावनी दिनुभयो। नयाँ नेतृत्वलाई चाटुकारहरूको घेराबाट बाहिर निस्कन, निष्ठावान् तथा भुइँतहका कार्यकर्ताको सम्मान गर्न र विगतका गल्तीबाट पाठ सिकेर संगठन अगाडि बढाउन उहाँले कडा खबरदारी गर्नुभयो।
