सत्यवती माविमा पूर्वाधार विस्तार: गण्डकीकै नमुना विद्यालय उत्कृष्टतातर्फ थप एक कदम अघि

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
दमौली (तनहुँ) — गण्डकी प्रदेशमै नमुना विद्यालयका रूपमा परिचित तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय भौतिक पूर्वाधार सुदृढीकरणका लागि छनोट भएको छ। बर्सेनी उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै गुणस्तरीय शिक्षाको पर्याय बनेको यस विद्यालयले शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले कुल २ हजार विद्यार्थीहरू अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएसँगै सत्यवती मावि पनि यस महत्त्वाकांक्षी योजनामा परेको हो।
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि सरकारले कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये पहिलो चरणमा सत्यवती माविसहित ८९ वटा विद्यालय पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ बजेटसमेत निकासा भइसकेको छ।
यस योजनाअन्तर्गत सत्यवती माविमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीनतले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गरिने भएको छ।
भौतिक संरचना सुदृढीकरणको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आधुनिक पूर्वाधारले विद्यालयको पठनपाठन र शैक्षिक वातावरणलाई अझ उच्च स्तरमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
गण्डकी प्रदेशकै उत्कृष्ट र नमुना विद्यालयको रूपमा आफ्नो साख जोगाइराख्न सफल सत्यवती माविमा थपिने यी आधुनिक पूर्वाधारले विद्यालयको शैक्षिक गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने र अन्य सामुदायिक विद्यालयका लागिसमेत ठूलो प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ।
