सुशासन र पारदर्शितामा भानु नगरपालिकाको जोड

अन्जन राज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
तनहुँ। स्थानीय सरकारलाई नागरिकप्रति थप जवाफदेही र पारदर्शी बनाउने उद्देश्यका साथ तनहुँको भानु नगरपालिकामा भव्य रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा भए-गरेका विकास निर्माणका काम, सेवा प्रवाहको अवस्था तथा विभिन्न शाखागत प्रगतिको विवरण नागरिकसमक्ष खुला रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागी नगरवासीहरूले नगरपालिकाबाट प्रवाह हुने सेवा, सुशासन, वित्तीय पारदर्शिता र भौतिक पूर्वाधारका क्षेत्रमा देखिएका समस्याबारे आफ्ना तिखा जिज्ञासा, महत्वपूर्ण सुझाव तथा गुनासाहरू राखेका थिए।
नागरिकका तर्फबाट उठेका प्रश्न तथा गुनासाहरूको सम्बोधन गर्दै नगर नेतृत्वले आगामी दिनमा पालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री, पारदर्शी र नागरिककेन्द्रित बनाउने प्रतिबद्धता जनाएको छ। नागरिकसँगको यस्ता प्रत्यक्ष संवादले सुशासन कायम गर्न ठूलो सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।
