तनहुमा संविधान दिवसको पावन अवसरमा विविध कार्यक्रम गरी मनाइने, तयारी तीव्र

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
दमौली (तनहुँ) – आगामी असोज ३ गते मनाइने संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ लाई भव्य र उत्सवमय रूपमा मनाउन तनहुँ जिल्लामा तयारी तीव्र पारिएको छ। जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा हालै बसेको तयारी बैठकले दिवसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न ८ वटा रचनात्मक कार्यक्रमहरू तय गरेको छ।
गृह मन्त्रालयको निर्देशनस्वरूप जिसस प्रमुख वाग्लेको संयोजकत्वमा १९ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने जिल्ला समन्वय अधिकारी शिव प्रसाद रिजाल सदस्य-सचिवमा रहनुभएको छ। दिवसलाई सफल बनाउन नागरिक समाज, राजनीतिक दल, स्थानीय तह तथा विभिन्न संघसंस्थालाई सक्रिय सहभागिताका लागि अपिल गरिएको छ।
तय गरिएका प्रमुख कार्यक्रमहरू:
असोज २ गते:
सरसफाइ र सजावट: बिहान ८ बजेदेखि जिल्लाका सबै सरकारी कार्यालयमा सरसफाइ गरिनेछ। दिनभर कार्यालय परिसरमा राष्ट्रिय झण्डा सजाएर साँझ दीपावली गरिनेछ।
रेडियो परिसम्वाद: नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संयोजनमा संविधानको महत्त्व र कार्यान्वयनको अवस्थाबारे विशेष रेडियो परिसम्वाद सञ्चालन हुनेछ।
असोज ३ गते (संविधान दिवसको मुख्य दिन):
झण्डोत्तोलन: बिहान ७:३० बजे दमौलीको प्रशासन चोकस्थित अनसन चौतारीमा झण्डोत्तोलन कार्यक्रम (व्यास नगरपालिकाको आयोजनामा) हुनेछ।
प्रभातफेरी: बिहान ७:४५ बजे प्रशासन चोकबाट सुरु भई व्यास नगरपालिका कार्यालयसम्म प्रभातफेरी निकालिनेछ।
शुभकामना आदान-प्रदान: बिहान ८:०० बजे व्यास नगरपालिकाको सभाहलमा विशेष शुभकामना आदान-प्रदान कार्यक्रम तय गरिएको छ।
दीप प्रज्ज्वलन: साँझ ७:०० बजे प्रशासन चोक, अनसन चौतारीमा जेसीआई व्यास नगरको संयोजन तथा लियो र रोट्रयाक्टको सहयोगमा दीप प्रज्ज्वलन गरिनेछ।
संविधान दिवसले लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको रक्षा र राष्ट्रिय एकताको भावनालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ। तनहुँवासीले यस राष्ट्रिय पर्वलाई पर्वकै रूपमा लिएर उत्साहपूर्वक सहभागिता जनाउने अपेक्षा गरिएको छ।
