अस्पतालमा फोटोमार्फत आफन्त खोज्दै परिवारका सदस्य
रासंसा/काठमाण्डौ, भाद्र १२,
मुलुकमा गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौँका अस्पताल धाइरहेका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा घाइते तथा मृतकको अवस्था बुझ्न र बेपत्ता आफन्तको नाम टिपाउन पुगेकाहरूको भीड छ। उनीहरूको एउटै आशा छ—कतै यही अस्पतालमा घाइते अवस्थामा आफ्नो मान्छे भेटिन्छ कि, वा कसैले उनीहरूबारे कुनै खबर दिन्छ कि। रसुवा बाढीपछि सोनाम तामाङ र रूपा घले पनि आफ्ना परिवारका सात जना सदस्यको खोजीमा शिक्षण अस्पताल पुगेका छन्।कसैको मोबाइलमा आफन्तको पुरानो तस्बिर छ। कसैले नाम, ठेगाना र फोन नम्बर टिपाएका छन्। कोही अस्पतालको सूचीमा आफ्नो मान्छेको नाम खोजिरहेका छन् । अस्पताल परिसरमा पुगेका केही परिवारले बेपत्ता आफन्तका तस्बिरसमेत देखाउँदै खोजी गरिरहेका छन् । रूपा घलेले आफन्तका तस्बिर देखाउँदै भन्छिन्, ‘यो मेरो सानी आमा हो । उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। मेरो हातको यो अङ्कल हुनुहुन्छ। अनि यो चाहिँ बाबु हो, उहाँको छोरा हो।’ रसुवाको बाढीपछि त्रिवि शिक्षण अस्पतालसँगै वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा समेत बेपत्ता आफन्तको खोजीमा परिवारका सदस्यहरू पुगिरहेका छन् । प्रहरीले अस्पतालमा बेपत्ता व्यक्तिको नाम, ठेगाना, नाता र सम्पर्क नम्बरलगायत विवरण सङ्कलन गरिरहेको छ। सम्पर्कविहीनमध्ये कोही स्याफ्रुबेँसीबाट र कोही टिमुरे क्षेत्रबाट हराएका हुन् । रूपाका अनुसार उनकी दिदी टिमुरेभन्दा माथिको क्षेत्रमा शिक्षिका थिइन्। उनीसँग दुई वर्षको बच्चासमेत थियो । बाढी आएको दिनदेखि उनीहरूसँग परिवारको सम्पर्क हुन सकेको छैन। त्यसैले सोनाम र रूपा अहिले अस्पतालमा नाम टिपाउँदै, घाइतेको सूची हेर्दै र मोबाइलमा भएका तस्बिर देखाउँदै आफ्ना मान्छेको खोजी गरिरहेका छन्।
