साँगे खोलामा करेन्ट लगाएर माछा मार्ने ६ जना प्रहरी नियन्त्रणमा

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
दमौली, तनहुँ – जिल्ला प्रहरी कार्यालय तनहुँले खोलामा अवैध रूपमा करेन्ट लगाई माछा मार्ने ६ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला तनहुँ, म्याग्दे गाउँपालिका-१, साँगे खोलामा करेन्ट लगाई माछा मारिरहेको भन्ने
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले माछा मारिरहेको अवस्थामै करेन्ट लगाउन प्रयोग हुने सामग्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।
नियन्त्रणमा लिएका सबैलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएकोमा नगरपालिकाले रु १०,०००- अर्थात दश हजार रुपैयाँ जरिवाना गरी छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले जानकारी दिए। प्रहरी नायब उपरक्षक घिमिरेका अनुसार बरामद गरेका सामग्रीमा ब्याट्री, इन्भर्टर, करेन्ट लगाउने रड, जाली, डोरी लगायतका सामान रहेका छन्।
जिप्रका तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद चिमिरेले प्राकृतिक स्रोतको दुरुपयोग हुने यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेका छन्।
