प्रदेश-४ [गण्डकी]हेडलाइन

शुक्लागण्डकीमा भ्रमपूर्ण र मिथ्या सूचना बारे सचेतना

Share to:

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश तनहुँ

जिल्ला स्थित क्लागण्डकीमा भ्रमपूर्ण र मिथ्या सूचनाबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ। प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजना र शुक्लागण्डकी पत्रकार मञ्चको समन्वयमा बिहीबार सचेतना कार्यक्रम गरिएको हो।

कार्यक्रमलाई शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक ‘राजु’ ले सही सूचना मात्रै ग्रहण गर्नुपर्नेमा जोड दिए। उनले नेपाली समाज सिक्ने र उत्पादनको चरणमा रहेको बताउँदै सूचना प्रविधिमा आएको अभूतपूर्व विकासलाई स्वीकार गर्नुपर्ने बताए। गलत सूचना सही सूचनाको तुलनामा चाँडो फैलने उनको भनाइ थियो। ‘यो समाजमा गलत सूचनाबाट प्रभावित भएर अगाडि बढिरहेको छ’, उपप्रमुख विकले भने।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले असार साउनको भेलबाढी जस्तै सूचनाको बाढी आएकाले सही सूचना मात्रै लिनुपर्ने बताए। मिथ्या र भ्रमपूर्ण सूचनाले समाजलाई असर गर्ने उनको भनाइ थियो।

गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले अहिले सही सूचना र भ्रमपूर्ण सूचना छुट्याउन नसक्दा नकारात्मक प्रभाव पारिरहेको बताइन्। सर्वसाधारणलाई सुसूचित गराएर सही सूचना मात्रै पढ्ने र सेयर गर्ने बानी बसाल्नुपर्नेमा उनको जोड थियो। ‘भ्रमपूर्ण र मिथ्या सूचनाबाट जोगाउन प्रेस रजिष्टारको कार्यालयले काम गरिरहेको छ’, उनले भनिन्।

शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले सामाजिक सञ्जालको उच्चतम् प्रयोगसँगै भ्रमपूर्ण र मिथ्या सूचना फैलिरहेको बताए। यसबाट जोगाउन नागरिकस्तरबाटै सचेतना आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा अनुसन्धानकर्मी उज्वल प्रजापतिले मिथ्या सूचना के हो, कसरी फैलन्छ र कसरी जोगिने भन्ने विषयमा सहजीकरण गरेका थिए। पत्रकार विनोद ढुंगानाले स्थानीयस्तरमा कसरी भ्रमपूर्ण सूचना फैलिरहेको छ भनेर जानकारी गराएका थिए। ‘पानी शुद्धीकरण गरेर पिएजस्तै सूचना पनि शुद्धीकरण गरेर ग्रहण गर्नुपर्छ’, उनको तर्क थियो।

कार्यक्रममा यस क्षेत्रका पत्रकार, कन्टेन क्रियटर, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवाहरुको सहभागिता थियो। सहभागीहरुले आगामी दिनमा भ्रमपूर्ण र मिथ्या सूचनाबाट जोगिन र जोगाउन भूमिका खेल्ने प्रण गरेका छन्।

Like