रुसको मस्कोमा युक्रेनले गर्यो हालसम्मकै ठूलो आक्रमण
एजेन्सी/आषाढ ४,
विश्वमा रुसको राजधानी मस्कोमा युक्रेनले हालसम्मकै ठूलो आक्रमण गरेको छ। दुई देशीच युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। मस्को क्षेत्रका गभर्नर आन्द्रेइ भोरोब्योभका अनुसार आक्रमणमा १७ जना घाइते भएका छन्। रुसको रक्षा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर करिब एक हजार युक्रेनी ड्रोन र चारवटा क्रुज मिसाइल खसालिएको छ। दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको एक तेल भण्डारण केन्द्रमा पनि आक्रमण हुँदा एक जनाको मृत्यु भएको जनाइएको छ। मस्को आसपासका विभिन्न क्षेत्रमा करिब दुई सय ड्रोन प्रहार भएको थियो। जसका कारण मस्कोको आकाशभर बाक्लो धुवाँको मुस्लो देखिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा पुनः ‘लङ-रेन्ज स्याङ्सन’ लागू गरिएको बताएका छन्। उनले यस शब्दलाई रुसभित्र गरिने लामो दूरीका आक्रमणका लागि प्रयोग गर्दै आएका छन्। जेलेन्स्कीले गत साता रुसले कीभमा गरेको आक्रमणको जवाफस्वरूप यो कारबाही गरिएको बताए। उक्त आक्रमणमा कीभको एक महत्वपूर्ण धार्मिक सम्पदा आगलागीबाट क्षतिग्रस्त भएको थियो।
