सत्यवती माध्यमिक विद्यालय अग्रस्थान यथावत्

अन्जननराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ ।
तनहुँ । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा सत्यवती माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित भएको छ। विद्यालयले ८९.०३ प्रतिशत उत्तीर्ण नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको हो।
यस वर्ष परीक्षामा सहभागी ३८३ जना विद्यार्थीमध्ये ३४१ जना उत्तीर्ण भएका छन्। नतिजाअनुसार दिया श्रेष्ठ र रीता दरै ले समान ३.९१ जिपिए प्राप्त गर्दै संयुक्त रूपमा प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी रुपेश दरै ले ३.८६ जिपिएसहित द्वितीय तथा रोशन श्रेष्ठ ले ३.८५ जिपिए ल्याई तृतीय स्थान प्राप्त गरेका छन्।
विद्यालयका अनुसार ३.६० देखि ४.०० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ३३ रहेको छ भने ३.२० देखि ३.५९ जिपिए प्राप्त गर्ने १४८ जना, २.८० देखि ३.१९ जिपिए प्राप्त गर्ने १३२ जना र २.४० देखि २.७९ जिपिए प्राप्त गर्ने २८ जना विद्यार्थी रहेका छन्।
विद्यालय प्रशासनले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू, अभिभावक, शिक्षक तथा विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। जिल्लाकै उत्कृष्ट नतिजासँगै सत्यवती माध्यमिक विद्यालयले आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः प्रमाणित गरेको छ।
