कम्युनिस्ट आन्दोलनका तीन हस्तीले चुनावमा रुचि राखेनन्
रासंसा/काठमाण्डौ, फाल्गुन ४,
मुलुकमा २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा उम्मेदवार बनेका नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह पराजित हुन पुगे । गृहजिल्ला प्यूठानमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका उनले त्यस यता कुनै पनि संसदीय निर्वाचनमा भाग लिएका छैनन् ।२०१७ साल पुस १ गते राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार बर्खास्त गरी प्रतिनिधि सभा विघटन गरेका थिए । उनले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएर शासन सत्ता आफ्नो हातमा लिएका थिए । नेकपाका महासचिव डा. केशरजंग रायमाझीले राजाको कदमलाई समर्थन गरेपछि नेकपाभित्र सङ्कट सुरु भयो ।
किशोर अवस्थादेखि नै वामपन्थी आन्दोलनमा लागेका सिंहले २४ वर्षको उमेरमा पार्टीको निर्णय अनुसार संसदीय निर्वाचनमा भाग लिएका थिए । त्यतिबेला १०९ सिटमध्ये नेकपाले चार सिटमात्र जितेको थियो । नेपाली कांग्रेसले ७४ सिट अर्थात् दुई तिहाइ सिट जितेको थियो । नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९ सिट जितेर दोस्रो दल बन्यो । संयुक्त प्रजातन्त्र पार्टी नेपाल पाँच सिट जितेर तेस्रो स्थानमा हुँदा नेकपा चौथो दल बनेको थियो । २०१९ सालमा भएको तेस्रो महाधिवेशनमा नेकपा विभाजन भयो । अनेकौँ टुटफुट र विभाजनबाट अस्तित्व सङ्कट परेको बेला सिंहको अग्रसरतामा २०२८ सालतिर सम्पूर्ण वामपन्थी घटकलाई एक बनाउने प्रयास भएको थियो । तर सबै प्रयास असफल भएपछि उनले २०३१ सालमा आफ्नै नेतृत्वमा पार्टीको चौथो महाधिवेशन आयोजना गरे । त्यस महाधिवेशनमा उनी महामन्त्रीमा निर्वाचित भए । अहिलेको नेकपा एमालेले त्यस महाधिवेशनलाई मान्यता दिएन । सिंह महामन्त्री भएपछि मूल नेतृत्व चुनावमा भाग नलिने नीतिअनुसार नै कुनै पनि चुनावमा भाग नलिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बताउँछन् । केसीले नेपालमा अहिले कोही पनि कम्युनिस्ट नभएको जिकिर गरे । अहिले हुन गरिरहेको निर्वाचन अमेरिकी स्वार्थले प्रेरित रहेको उनको भनाइ छ । ‘उहाँले २०१५ सालको निर्वाचन प्यूठानबाट उठ्नुभएको थियो । तर जित्नुभएन । उहाँ महामन्त्री बनेपछि कुनै पनि निर्वाचनमा भाग लिनु भएन । मूल नेतृत्वले चुनावमा भाग नलिने पार्टीको नीति अनुसार नै निर्वाचनमा भाग नलिनुभएको हो’, उनले भने । केसीले भने, ‘यो निर्वाचन अमेरिकाले गर्न लागेको हो । स्पष्ट भन्नुपर्दा सीआईएले गर्न लागेको हो । फागुन २१ पछि देश थप दुर्घटनामा जाने देखिन्छ ।’ राणा शासनकालमा खान्दानी परिवारमा जन्मेर पनि विद्रोह गरी किशोरावस्थादेखि नै सिंह वामपन्थी राजनीतिमा लागेका थिए । जलजलासँग प्रेमका कारण २०३३ सालमा पार्टीको महामन्त्री, केन्द्रीय समिति र साधारण सदस्यबाट समेत तीन वर्षका लागि उनी निष्कासित भए । २०४१ सालमा पार्टी अनुशासन तोडेको आरोपमा उनी फेरि कारबाहीमा पर्दा पार्टी नै विभाजन भयो । एउटा समूहको नेतृत्व मोहन वैद्य ‘किरण’ले गरे । सिंहले आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर रहेका ९१ वर्षीय सिंह अहिले पनि नेकपा (मसाल)का महामन्त्री छन् । उनी आफैँ निर्वाचनमा भाग नलिए पनि २०४८ देखि सो पार्टीको खुला मोर्चाका रूपमा रहेको राष्ट्रिय जनमोर्चाले हरेक निर्वाचनमा भाग लिँदै आएको छ । २०७९ सालमा केसीले जितेको निर्वाचन क्षेत्र बागलुङ–१ मा यस पटक जनमोर्चाले नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल गरेको छ । सिंह अहिले चुनावी प्रचारप्रसारका लागि जिल्ला दौडमा छन् । सिंह सानैदेखि राजनीतिबाहेक साहित्य लेखन, अध्ययनमा पनि सशक्त देखिन्छन् । भूमिगत कालमा उनले थुप्रै साहित्य सिर्जना गरे पनि प्रकाशन हुन सकेको थिएन । गत वर्षमात्र सिंहले प्रेमिका जलजलाको नाममा भीमकाय उपन्यास प्रकाशित गरेका थिए । शरीरले धानुन्जेलसम्म सक्रिय राजनीतिबाट बिश्राम नलिने बताएका उनी अहिले पनि देश–विदेशका पार्टी कार्यक्रममा सहभागी हुँदै आएका छन् ।‘मलाई जानकारी भएसम्म उहाँले कुनै पनि निर्वाचनमा भाग लिनु भएन । संसदीय निर्वाचन बुर्जुवाहरूको भएकाले क्रान्तिकारी कम्युनिस्टहरूले निर्वाचनमा भाग लिन नहुने उहाँको मान्यता छ । सोही नीति अनुसार नै हामीले २०७० सालदेखि हरेक निर्वाचन बहिष्कार गर्दै आएका छौँ’, उनले भने । कम्युनिस्ट आन्दोलनका अर्का मूर्धन्य व्यक्तित्व मोहन वैद्य ‘किरण’ले अहिलेसम्म संसदीय निर्वाचनमा भाग लिएनन् । उमेर र अस्वस्थताका कारण असोजको अन्त्यतिर सक्रिय राजनीतिबाट बिदा लिएका किरण संघर्षशील व्यक्ति हुन् । शालीन, सरल जीवनशैली र कट्टर मार्क्सवादी चिन्तकका रूपमा उनी चिनिन्छन् । गत वर्ष मंसिरमा भएको महाधिवेशनबाट किरण महासचिवमा निर्वाचित भएका थिए । उमेरले ७९ वर्ष पार गरेका किरण वैशाख २४ गते आमा जानकीदेवी उपाध्यायको निधनपछि गृहजिल्ला दाङ पुगेका बेला गम्भीर बिरामी भएका थिए । दम र निमोनिया समेतबाट थलिएका उनी जेठमा २२ दिन अस्पताल बसेका थिए । अहिले घरमै आराम गरिरहेका किरणको स्वास्थ्य राम्रो रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हुकुम सिंहले जानकारी दिए । सिंहका अनुसार २०६४ सालमा संविधान सभा सदस्य बन्नुबाहेक किरण कुनै पनि निर्वाचनमा सहभागी भएका छैनन् । सिंहले पनि अहिलेको निर्वाचन चीन घेर्ने नीति अनुसार अमेरिकाको स्वार्थमा हुन लागेकाले केही निकास नदिने दाबी गरे । पुर्ख्यौली घर प्यूठान रहेका किरण कुनै निर्वाचनमा सहभागी नभएको जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए । नेकपा (माओवादी)ले २०५२ सालमा घोषणा गरेको जनयुद्धका मुख्य योजनाकार रहेका किरण २०६२/०६३ सालको जनआन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापना भएसँगै शान्तिपूर्ण राजनीतिमा आएका थिए । जनयुद्धको प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । किरण प्रचण्डका गुरु, प्रमुख सल्लाहकार र समग्र युद्धको निर्देशकको भूमिकामा देखिए । माओवादीबाट संविधान सभा सदस्य रहेका उनले ८ महिनामै पद त्याग गरे । जनवादी सत्ता स्थापना गर्न नेतृत्व असफल रहेको निष्कर्षसहित किरणले २०७९ साल असारमा पार्टी विभाजन गरेर आफ्नै नेतृत्वमा क्रान्तिकारी पार्टी पुनर्गठन गरे । ‘मोहन वैद्यजीले पहिलेदेखि नै निर्वाचन बहिष्कारको नीति लिँदै आउनुभएको छ । अहिलेको व्यवस्था, संविधान कुनै पनि आवश्यक छैन भनेपछि उहाँहरूको लाइन प्रस्ट नै छ । मेरो जानकारीमा उहाँले एउटा पनि निर्वाचनमा भाग लिनुभएको छैन’, केसीले भने । वामपन्थी आन्दोलनका अर्का हस्ती तथा पुराना नेता मोहनचन्द्र अधिकारीले २०४८ सालमा निर्वाचनमा भाग लिएका थिए । त्यतिबेला मोरङ–६ मा नेकपा (एमाले)बाट उम्मेदवारी दिएका उनी पराजित भए । मोरङ–२ बाट उम्मेदवार बन्न चाहेका अधिकारीले पार्टीले टिकट नदिएपछि बाध्य भएर अर्को क्षेत्र रोजेका थिए । पार्टी नेतृत्वकै कारण आफू निर्वाचनमा पराजित भएको उनको आरोप थियो । घरमै आराम गरेर बसेका अधिकारी पहिलेको तुलनामा यो निर्वाचन फरक रहेको बताउँछन् । यद्यपि झापा–५ बाट एमालेका अध्यक्ष केपी ओलीले जित्न सक्ने सम्भावना उनले औँल्याए । ओलीकै कारण आफूलाई पार्टीबाट हटाएको आरोप समेत अधिकारीले लगाए । ‘२०४८ सालको निर्वाचनमा मैले मोरङ–६ बाट उम्मेदवारी दिएको थिएँ । जबकि त्यतिबेला मैले मोरङ–२ काम गरेको थिएँ, तर सो क्षेत्रमा मलाई पार्टीले टिकट दिएन । त्यसयता कुनै निर्वाचनमा पनि भाग लिइनँ’, उनले भने, ‘संसदीय निर्वाचन बुर्जुवाहरूको हो । पैसा प्रशस्त हुनेले निर्वाचन जित्छ । किसान, मजदुर, श्रमिकहरूले चुनावी प्रतिस्पर्धा गर्न सक्दैनन् ।’ ‘केपी ओलीसँग अहिले प्रशस्त पैसा छ । साम, दाम, दण्ड, भेद प्रयोग गरेर उनैले चुनाव जित्छ जस्तो लाग्छ, तर ओलीले जिते पनि पार्टी हार्ने देखिन्छ । मलाई ६० वर्षमै बुढो भयो, काम गर्न सक्दैन भनेर ओलीको योजनामा निकालियो, तर अहिले ७०/८० वर्षसम्म पनि पार्टी छोडेका छैनन्’, अधिकारीले भने । २०२८ सालको चर्चित ‘झापा विद्रोह’का मुख्य योद्धामध्ये एक रहेका अधिकारी २०३० सालमा ओलीसँगै रौतहटबाट पक्राउ परेका थिए । १४ वर्ष जेल बसेका ओली २०४४ सालमा रिहा हुँदा अधिकारी भने २०४६ सालमा मात्र जेलमुक्त भएका थिए । नेपालको नेल्सन मण्डेलाको उपमा पाएका अधिकारी पनि राजकीय अवसरबाट वञ्चित भएका नेतामा पर्छन् । नेतृत्व हत्याउन र देशको कार्यकारी पदमा पुग्न कम्युनिस्ट पार्टीभित्र हानथाप हुँदा सिंह, किरण र अधिकारी मार्क्सवादी नीति, सिद्धान्त तथा विचारलाई जीवित राख्ने अभियानमै जीवन बिताए । नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख हस्ती यी तीन ‘मोहन’मध्ये किरणले संसदीय निर्वाचन बहिष्कार गरे । सिंह र अधिकारीले एकपटक मात्र प्रतिस्पर्धामा भाग लिए पनि सफल भएनन् ।