रासंसा/काठमाण्डौ, चैत्र १७,
अश्वत्थमेकम् पिचुमन्दमेकम्
न्यग्रोधमेकम् दश चिञ्चिणीकान् ।
कपित्थबिल्वाऽऽमलकत्रयञ्च। पञ्चाऽऽम्रमुप्त्वा नरकन्न पश्येत्।।
तेल लगाउने र नीमको पात खाने दिन
नयाँ वर्ष २०८२ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । अब त वर्ष मात्र नयाँ नभईकन दशक पनि नयाँ भएको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०८२ औँ संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौँ । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरू । बस मानिस–मानिसबिचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ । जसजसले यी वृक्षहरु लगाँउछन्, हेरचाहगर्छन, उनीहरुले नर्क जानु पर्ने छैन् । यी वृक्षहरुमा तुलसी, पिपल, बेल, नीम, अमला आदि पर्दछन् । सनातन सभ्यतामा निमको तितो स्वाद संगै कुनै समयकाल लाई स्वागत गर्ने चलन छ । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाई लाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । अर्कोतर्फ नैरोग्यताको प्रतिकका रूपमा नीम खाने चलन पनि चल्दै आएको छ । नीम प्राचिनकाल देखि नै एउटा आयुर्वेदिक औषधि का रूपमा प्रयोग हुँदै आइरहेको छ र यो स्वास्थ्य कोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपाल कोलागि अत्यन्तै फाइदाजनक औषधि हो तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसको रस या पात चपाउँदा स्वास्थ्यलाई धेरै फाइदा हुने हुँदा यस नयाँ वर्षको अघिल्लो सन्ध्यामा नीमको फाइदा र गुणहरूका बारेमा हामी थोरै जानकारी दिन चाहन्छौँ । नीममा भएको एन्टी इंफ्लेमेट्री तत्वले चाया, डण्डीफोर आदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट पर राख्दछ नीमको जुस ले अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा विशेष भूमिका खेल्दछ । नीमको पातहरूको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी दुवै तर्फ स्वास्थ्यकर हुने जनविश्वास र प्रमाणित मान्यता छ । पौराणिक कालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहु प्रयोगका अनेक किस्सा र आयुर्वेदीय दृष्टान्तहरू पाइन्छ । नीमको पात खानाले पेटका रोगहरू हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत हुने र मुलायम हुने विश्वास छ । आउँदो नयाँ वर्षले सबैलाई मजबुती र स्वास्थ्यकर जीवन प्रदान गरोस् ।
ज्योतिष दिवस
वसन्त ऋतुको आगमन हुने दिन, ज्योतिषी गणना प्रारम्भ भएको दिन तथा वर्ष फल सुन्ने र सुनाउने दिनका रूपमा चैत्र शुल्क प्रतिपदालाई शास्त्रले पनि प्रमाणित गरेकाले यस दिनको महत्त्व उच्च रहेको मानिन्छ । लङ्कामा पहिलो पटक सूर्योदय भई सृष्टि प्रारम्भ भएको दिन चैत्र शुल्क प्रतिपदाका दिनलाई ज्योतिष दिवसका रूपमा मनाउने निर्णय गरिएको पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले विसं २०८० मा जानकारी गराउनु भएको थियो । यसर्थमा विसं २०८१ मा चैत्र १७ गते आइतबार देशव्यापीरुपमा ज्योतिष दिवस को दोश्रो संस्करण मनाँईदै छ । अर्कोतर्फ नेपालमा ज्योतिष शास्त्रको बढ्दो पूर्नजागरण र प्रयोगकर्ताहरूको रुचि र सत्यता लगायतका कुराहरूलाई नियमन गर्न र शास्त्रलाई थप व्यवहारिक र वैज्ञानिक बनाउन यस दिवसको आवश्यकता झनै बढेर गएको छ । ज्योतिष शास्त्रको अपूर्व ज्ञानलाई संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न, विधागत महत्त्व र उपादेयतालाई जना समक्ष ल्याउन र अन्तर्राष्ट्रियकरण गर्न दिवसले महत्त्व राख्ने अपेक्षाका साथ आजको दिवसको अर्थपूर्ण शुभकामना ।