नेपाली महिलाको ओमन हुँदै खाडी मुलुकमा तस्करी

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २४,

मुलुकमा भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका आधारमा नेपालबाट विशेष गरी खाडी मुलुकतर्फ नेपाली महिलाहरूको अवैध तस्करी भइरहेको प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो परिचालन गरेपनि तस्करी नियन्त्रणमा पूर्ण रूपमा सफलता हासिल गर्न नसकेको बताएको छ । नेपाल सरकारले २०८० माघ १० गतेबाट लागू गरेको छ-बुँदे मापदण्डका आधारमा भिजिट भिसामा विदेश जान लाग्ने व्यक्तिले आवश्यक कागजात पेस गर्नुपर्ने नियम भएपनि तस्करहरूले नक्कली कागजात बनाएर तस्करीलाई निरन्तरता दिइरहेका छन् । प्रहरीका अनुसार, दुईतर्फी टिकट भएपनि एउटा मात्र प्रयोग गर्ने, रिटर्न टिकट नक्कली बनाउने, होटल बुकिङ नक्कली गर्ने, ५०० अमेरिकी डलर बोक्नुपर्ने मापदण्डलाई नजरअन्दाज गर्ने कार्य भइरहेको छ । विमानस्थलबाट भिजिट भिसाको सहारामा विशेष गरी दुबई, कुवेत, ओमन, कतार, साउदी अरब, बहराइन, सिरिया, इराक लगायतका खाडी मुलुकमा नेपाली महिलाहरूको अवैध रूपमा तस्करी भइरहेको छ । प्रहरीका अनुसार दुबईमा मात्र दैनिक २५० जना नेपाली महिलाहरू भिजिट भिसामा गएको देखिन्छ, जसमा ठूलो संख्यामा तस्करीका सिकार भएका छन् । दुबई सरकारले भिजिट भिसामा कडाइ गरेपछि तस्करहरू ओमनलाई ‘ट्रान्जिट प्वाइंट’का रूपमा प्रयोग गर्न थालेका छन् । नेपालका विभिन्न ट्राभल एजेन्सीहरूको संलग्नतामा महिला तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विभिन्न एयरलाइन्स मार्फत मानव तस्करी व्यापक रूपमा भइरहेको पाइएको छ । यस क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयरलाइन्सका कर्मचारीहरू पनि प्रत्यक्ष संलग्न रहेको खुलासा भएको छ । तस्करहरूले एयरलाइन्सका कर्मचारीहरूसँग मिलेर १०,००० रुपैयाँसम्म रकम बुझाएर बोर्डिङ पास प्राप्त गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । नेपाल सरकारले हाल भिजिट भिसाको व्यवस्थापनलाई थप कडाइ गर्दै श्रम स्वीकृति प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ । खाडी मुलुक जाने महिलाहरूलाई भिजिट भिसाको सट्टा वैधानिक श्रम स्वीकृति दिलाएर पठाउने व्यवस्था गर्न सकियो भने सरकारले उनीहरूको सुरक्षा र कार्यमा निगरानी राख्न सक्नेछ । गृह मन्त्रालय, श्रम मन्त्रालय, अध्यागमन विभाग र सुरक्षा निकायहरू मिलेर यो समस्या नियन्त्रण गर्न गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ । अन्यथा, नेपाली महिलाहरू मानव तस्करहरूको सञ्जालमा परेर जीवनभर शोषणको शिकार बन्ने अवस्था रहिरहनेछ । नेपाल सरकारले २०७३ सालदेखि नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाएको भएपनि तस्करहरूले गैरकानुनी रूपमा महिलाहरूलाई आकर्षक तलब र सुरक्षित रोजगारीको प्रलोभन देखाएर तस्करी गरिरहेका छन् । यसरी गैरकानुनी रूपमा गएका महिलाहरूको अवस्था अत्यन्त दयनीय रहेको छ । उनीहरू शारीरिक शोषण, यौन हिंसा र जबरजस्ती श्रम शोषणको सिकार हुने गरेका छन् । यस्तै सरकारसँग २०७३ सालदेखि हालसम्म खाडी मुलुकमा अवैधानिक रूपमा पुगेका करिब २ लाख नेपाली महिलाको कुनै आधिकारिक तथ्यांक नै छैन ।

Like