अपहरित चिनियाँ र अपहरणकारी दुवै ठगी धन्दामा

Share to:

रासंसा/काठमाण्डौ माघ ०४

मुलुकमा माघको पहिलो दिन काठमाडौंबाट चिनियाँ नागरिक अपहरण परेको खबरले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू तनावमा थिए। काठमाडौंको ठमेलबाट भारतीय नम्बर प्लेट भएको गाडीमा राखेर चिनियाँ नागरिकको अपहरण हुनुले पनि प्रहरीलाई बढी नै तनाव थियो। प्रहरीका अनुसार अपहरित हुने र अपहरण गर्ने दुवै प्रहरीलाई छल्न चाहन्थे तर उनीहरू पक्राउ परे। एसएसपी भट्टराईले दिएको जानकारी अनुसार चिनियाँहरूले आफूहरूमाथि ‘स्क्याम’ गरी ठगी गरेपछि रकम उठाउने प्रयोजनका लागि मात्रै नियन्त्रणमा लिइएको भारतीयहरूले बताएका छन्। तर यो विषयमा अनुसन्धान भइरहेको एसएसपी भट्टराईले बताए। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार चिनियाँ नागरिक अपहरणमा परेपछि विदेशी नागरिकले नेपालको सुरक्षा अवस्थाबारे प्रश्न उठाउने भएकै कारण पनि बढी संवेदनशील हुनुपर्ने अवस्था आएको थियो। अपहरणमा पर्ने चिनियाँ नागरिक वु हुवान थिए भने अपहरणमा संलग्न भारतीय नागरिकहरू महाराष्ट्रका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरट र ४० वर्षीय अफसर युनुस सेख तथा अहमद नगर पुनेका ३० वर्षीय अमोल खार्माटे र ३० वर्षीय नै अम्बादस सिर्सत थिए। उता चिनियाँ नागरिकले आफू स्क्यामर (ठगीमा संलग्न व्यक्ति) नभई आफूभन्दा माथि अर्को ‘बोस’ रहेको बताएका छन्। उनीहरूलाई प्रहरीले मकवानपुरस्थित भीमफेदीको जंगलबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। चिनियाँ नागरिकको ठगी र स्क्याममा परेका भारतीय २ प्रतिशत कमिसनको लोभमा समस्यामा परेको उनीहरूले प्रारम्भिक बयानबाट खुलेको छ। करिब तीन महिनाअगाडि इन्स्टाग्राममा देखिएको विज्ञापनका आधारमा आफूहरू फसेको भारतीयले बताइरहेका छन्। घरमै बसेर पैसा कमाउन सकिने लोभमा उनीहरू लोभिएको र चिनियाँ गिरोहको सम्पर्कमा पुगेको उनीहरूको बयान छ। बुधबार उनीहरूलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। प्रहरीले भारतीय नागरिकले प्रयोग गरेको गाडीलाई पछ्याउँदै जाँदा भीमफेदीबाट पक्राउ गर्न सफल भएको थियो। यद्यपि उनीहरू प्रहरीले चेकजाँच गर्न थालेपछि गाडी छाडेर जंगलतिर भागेका थिए। ‘अपहरण हुने र अपहरण गर्ने दुवै प्रहरीको आँखा छल्न भागेका रहेछन्। उनीहरूले गरिरहेको कारोबार कानुन र विधिसम्मत देखिँदैन,’ एसएसपी भट्टराईले भने। चिनियाँ नागरिकले २ प्रतिशत कमिसनको लोभ देखाएपछि भारतीय नागरिक करिब तीन महिनाअगाडि काठमाडौं आएर आफ्नो बैंक खाताको विवरण, अनलाइन कारोबारको विवरण र ओटिपी आउने सिमकार्डलगायत सबै विवरण दिएर गएको र पछि चिनियाँ ठगको फेला परेको प्रहरीलाई बयानमा उल्लेख छ। एसएसपी भट्टराईले दिएको जानकारीअनुसार हाल पक्राउ परेका चार भारतीय नागरिक पुस २९ गते मात्रै काठमाडौं आएका थिए। नेपाल आएका चार जनामध्ये दुर्ईजना होटेल काठमाडौं स्क्वायरमा बसेका थिए भने अन्य दुई जना अन्य होटेलमा बसेका थिए। त्यसको भोलिपल्ट बिहान छलफल गर्दा पनि चिनियाँले रकम नदिने भनेपछि मात्रै अपहरण गर्नेतिर लागेको उनीहरूको बयानमा उल्लेख छ। उनीहरूले आफूहरूको बैंक खाता प्रयोग गरेर चिनियाँ नागरिकले भारतका विभिन्न व्यक्तिसँग ठगी गरेपछि भारतका विभिन्न स्थानमा समेत उनीहरूविरुद्ध उजुरी परेका थिए। तर भारतीय प्रहरीले त्यहाँको एक पूर्वसुरक्षाकर्मीलाई साथ लगाएर छाडेको र उनी पनि नेपाल आएको बुझिएको छ। भारतीयहरूले समस्या पर्दै गएपछि चिनियाँसँग रकम असुल्न अपहरण गरेको बताइएको छ। प्रहरीका अनुसार भारतीयको अपहरणमा परेका चिनियाँ नागरिकले नेपालमा बसेर भारतीयसँग ठगेर करिब पाँच करोड रुपैयाँ हात पारेका छन्। पक्राउ परेका दुई भारतीय नागरिकको खाता प्रयोग गरी एउटाको खाताबाट दुई करोड र अर्काको खाताबाट एक करोड ५० लाख भारतीय रुपैयाँबराबरको ठगी गरेको उजुरी परेको छ। त्यसै गरी अन्य व्यक्तिहरूको खातासमेत प्रयोग गरी कुल पाँच करोड रूपैयाँ ठगी गरिएको उजुरी भारतमा परेको प्रहरीले जनाएको छ। चिनियाँ नागरिकले आफू छाया सेन्टरको दोस्रो तलामा रहेको एक चिनियाँ रेस्टुरेन्टको म्यानेजर रहेको र आफूलाई थाइल्यान्डमा रहेका एक चिनियाँ नागरिकले भारतबाट मानिसहरू आउँदै छन्, उनीहरूलाई होटेलमा राखिदिनू भनेकाले होटेलमा लगेर राखिदिएको मात्र बताएका छन्। उनलाई भारतीयहरूले ठमेलको नर्सिङ चोकबाट अपहरण गरी भीमफेदी पुर्‍याएका थिए। ठमेलको नर्सिङ चोकमा रहेको होटेल काठमाडौं स्क्वायरबाट चिनियाँ नागरिक अपहरणमा परेको सूचना आएलगत्तै प्रहरीको टोलीले माघ १ गते ३ बजे होटेलमा पुगेर अनुसन्धान सुरु गरेको थियो। तर प्रहरीले अपहरणबाट उद्धार गरेपछि चिनियाँ नागरिकले ठगी वा अन्य काममा आफ्नो कुनै संलग्नता नरहेको, आफू केवल जागिरे रहेको बयान दिएका छन्। भीमफेदीको भिरबाट हाम फाल्न खोजेर भागेका उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। काठमाडौंबाटै चिनियाँ नागरिकको अपहरण भएको सूचना आएपछि अपराध महाशाखाबाट डिएसपी अनिल घिमिरेको टोली परिचालित भएको थियो। ठमेलको नर्सिङ चोकमा रहेको होटेल काठमाडौं स्क्वायर बाहिरको एक सिसिटिभी फुटेज हेर्दा सेतो कारमा पाँच जना भारतीय नागरिकले जबर्जस्ती एक चिनियाँ नागरिकलाई गाडीमा हालेको देखिएपछि थप प्रहरी परिचालित भएको एसएसपी भट्टराईले जानकारी दिए। उनका अनुसार भारतीय नम्बर प्लेट एमएच १६ डिजी ४९०४ नम्बरको कियाको सेरेन्सका कारमा चिनियाँ नागरिकको अपहरण भएको थियो।

Like