रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु
मिनबहादुर कुँवर/कास्की, पौष २५,
मुलुकमा रास्वपाका सभापति रवि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिएका छन् । फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण पछि बाहिरिने क्रममा बिहीबार राति प्रतिक्रिया दिँदै उनले न्यायालयप्रति सम्मान गर्ने बताएका हुन् । गाडीमा चढेर गन्तव्यतर्फ लाग्ने क्रममा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘न्यायालयप्रति सम्मान गर्छु ।’ उनले लडाइँ अझैँ बाँकी रहेको र न्यायालयप्रति आफू विशेष आभारी रहेको समेत प्रतिक्रिया दिए । ‘न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै धेरै ठाउँ प्राप्त गरेकोमा धन्यवाद !’ यस्तै अर्को एक फेसबुक लाइभमा लामिछानेले आफूलाई यो बिचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । बिहीबार राति १० बजे रास्वपाकै नेता दीपक बोहराको फेसबुक लाइभमा देखिएका उनले भने, ‘सबै जनालाई धेरैधेरै धन्यवाद ! म बोल्ने समय आएपछि नबोल भनेपनि बोलौँला ! अहिलेलाई म सबै जनालाई धन्यवाद दिन चाहन्छु । यसअघि बिहीबार नै कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ६५ लाख धरौटी बुझाएर रिहा भएपछि उनी स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुगेका थिए । काठमाडौँमा अर्को मुद्दा भएपनि आफैँ अदालतमा उपस्थित हुने भएपछि प्रहरीले पार्टी र परिवारको जिम्मामा उनलाई छाडेको हो । लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु रिहा भएका हुन् । सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा दायर भएपछि १० दिनसम्म चलेको थुनछेक बहसपछि लामिछानेसहितका ७ प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । आदेशअनुसार धरौटी बुझाउन नसकेपछि एक जना थुनामै रहेपनि बाँकी ६ जना भने बिहीबार नै रिहा भइसकेका छन् । न्यायाधीश नितिज राईको इजलासले सभापति लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग रू ८८ लाख, लीला पछाईंसँग रू ३७ लाख, मीना गुरुङसँग रू पाँच लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरुङसँग पाँच लाख र कृष्णबहादुर गुरुङसँग रू एक लाख धरौटी माग गरेका थिए । प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेका छन् । अब अदालतले मुद्दाको थप सुनुवाइ प्रक्रिया अघि बढाउनेछ । अदालतले अबका पेसीमा प्रमाण झिकाउने र थप सरकारी साक्षी बुझ्ने आदेश गर्दै अघि बढ्नेछ । पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा ७ जना थुनामा थिए । खनालका अनुसार पहिलो थुनछेक आदेश भएको छ भने अब नियमित प्रक्रियामा सुनुवाइ अघि बढ्नेछ । अदालतले आवश्यक प्रमाण झिकाउँदै सबैसँग लिखित जवाफ मागेर अन्तिम फैसला सुनाउनेतिर अघि बढ्नेछ । जिल्ला अदालतले प्रमाण र साक्षीको बयान सकेपछि फैसला सुनाउनेछ ।