रासंसा/काठमाण्डौ, श्रावण १५,

डा. के. बि. सम्राट
आज श्रावण १५, नेपाली समाजमा विशेष रूपमा “खिर खाने दिन” का रूपमा मनाइने पावन दिन हो। यो केवल स्वादिलो परिकार खाने दिन मात्र होइन, हाम्रो संस्कृति, प्रकृति, कृषि र पारिवारिक एकताको प्रतीक पनि हो।
श्रावण महिना भगवान शिवको प्रिय महिना मानिन्छ। यस समयमा सात्त्विक भोजन, व्रत, पूजा, जप, ध्यान तथा संयमित जीवनशैली अपनाउने परम्परा रहेको छ। दूध, चामल, चिनी, घिउ र सुक्खा फलफूलबाट बनाइने खिर सात्त्विक, पौष्टिक र शुभ भोजनको रूपमा लिइन्छ। खिरलाई समृद्धि, शुद्धता र मंगलताको प्रतीक मानिन्छ।
नेपाल कृषिप्रधान देश भएकाले असारभरि धान रोपाइँमा कडा मेहनत गरेका किसानलाई श्रावण १५ मा पोषणयुक्त भोजन खुवाउने चलन बसेको मानिन्छ। दूधले शक्ति दिन्छ, चामलले ऊर्जा दिन्छ, घिउले शरीरलाई स्फूर्ति प्रदान गर्छ। त्यसैले यो दिन स्वास्थ्य र श्रमको सम्मानसँग पनि जोडिएको छ।
आध्यात्मिक दृष्टिले, भोजनलाई प्रसादको भावले ग्रहण गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। खिर भगवानलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्दा कृतज्ञता, श्रद्धा र सन्तोषको भावना जागृत हुन्छ। हाम्रो धर्मले सिकाउँछ—अन्नको सम्मान गर्नु, अन्न बाँड्नु र कसैलाई भोकै नराख्नु नै साँचो धर्म हो।
आजको दिन हामीले आफ्ना परिवार, छिमेकी, गरिब, असहाय तथा वृद्धवृद्धालाई पनि खिर बाँड्न सके त्यो कार्य अझ पुण्यमय हुन्छ। बाँडेर खाने संस्कारले प्रेम, सद्भाव र सामाजिक एकतालाई अझ बलियो बनाउँछ।
आजको व्यस्त जीवनमा परम्पराहरू हराउँदै गइरहेका छन्। त्यसैले यस्ता सांस्कृतिक पर्वहरूले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने अवसर प्रदान गर्छन्। परम्परा केवल मनाउने विषय होइन, त्यसको मूल्य र सन्देशलाई जीवनमा उतार्नु नै यसको वास्तविक सार हो।
दूध–भात अर्थात् मीठो र पोसिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध–भातसँग सख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म बासमती अथवा तराईतिर पाइने करिया कामत होस् वा टाई चून अथवा अन्य मसिनो बास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ । मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । यसबाट बन्ने कैयन मीठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमै प्रिय बन्न सफल छ । नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएका हरिया दुना–टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेल रोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन, पोषण यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचीन कालमा गरेको समुन्द्र–मन्थनसँग सम्बन्धित छ । त्यति बेलादेखि अझसम्म दूधलाई शुद्धीकरण गर्ने तत्त्व र पोषण मिसिएको बहु गुणी अमृतकै रूपमा लिइन्छ ।
भगवान् श्रीकृष्णले एक दिन साधारण साधुको भेषमा बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा मन्दिरहरूमा निःशुल्क गरिब दीन–दुःखीहरूलाई खिर खुवाउने सर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्रीकृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीन–दुःखीहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सि याम राज्य अर्थात् थाइल्यान्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ । आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीरमा’बाट आएको मानिन्छ । क्षीरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्त्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ । श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । अर्थात् श्रावणको मध्य बिन्दु खिरका लागि प्रचलित छ । अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दूधको व्यापक बिक्री हुन्छ नेपालमा । बिहानैदेखि दूध पसलहरूमा भिडभाड हुने गर्छ । आफ्ना लागि खिरको जोहो गर्न नभुलौँ है । ल है, सहर तिर हो भने त डेरीमा अरू दिन ३–४ बजे सकिने दूध बिहान ९ नबज्दै सकिएला । ढिलो हुँदा नपाइएला नि !
रोपाई सकिन आँट्यो या चलिरहेको रोपाई सँगै यो दिनलाई खिर कैयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस प्रशस्त हुन्छन् । जुन लैनो गाई तथा भैँसीहरूले अत्यन्त मन पराउने गर्छन्, जसका कारण प्रशस्त दूध पनि दिन्छन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
अन्त्यमा, श्रावण १५ को यस पावन अवसरमा भगवान शिवको कृपाले सम्पूर्ण मानव जातिमा सुख, शान्ति, आरोग्य, समृद्धि र सद्बुद्धिको वर्षा होस्। हाम्रो परिवार, समाज र राष्ट्रमा प्रेम, सहिष्णुता र एकताको भावना अझ प्रगाढ बनोस्।
