नेपाल प्रहरी कानुन कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम – प्रहरी महानिरीक्षक कुँवर

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २६,

मुलुकमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी कानुन कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताएका छन् । प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आम जनमानसमा रहेको प्रहरी प्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको बताए । अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयमिक प्रतिभा समेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रस्फुटित गरेको उनले उल्लेख गरे । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार प्रहरी उपरीक्षक नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले वंश परम्परा सम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेद जस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ सामाजका विविध पक्षहरूलाई उजागर गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताए । साथै उनले प्रहरी उपरीक्षक नवीन किशोर प्रधानलाई बधाई दिँदै आगामी दिनमा अझ नवीन र सिर्जनशील रहँदै साहित्यिक क्षेत्रमा थप अग्रसर भई ख्याति प्राप्त गर्न सफल हुन शुभकामना समेत व्यक्त गरे । उक्त अवसरमा प्राज्ञ डा. मधुसूदन गिरीले ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए । डा. छायादत्त न्यौपाने ‘बगर’ ले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा कृति सर्जक प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले कृति सम्बन्धी आफ्नो धारणा सहितको मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कथासङ्ग्रह र नाटक लोकार्पण गरॆका थिए । साथै प्रहरी महानिरीक्षक कुँवरले कृति प्रकाशनमा संलग्न महानुभावहरूलाई कदरपत्र समेत प्रदान गरे । अक्षरधाम प्रकाशनका प्रबन्धक निर्देशक देवराज सिंखडाको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

Like