Sunday, October 18, 2026
Latest:
अन्य थपदेशधर्म–संस्कृति/रीतिथितिप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

आज वैष्णवहरूको अपरा एकादशी व्रत, जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २१,

स्थानीय सूर्योदयको समयमा एकादशी प्रतिबिम्बित हुँदा त्यसलाई स्मार्त एकादशी भनिन्छ । कुनै पनि पक्षको दशमी तिथीको समाप्ति अरुणोदयको दिन अर्थात् एकादशीको दिन सूर्योदयभन्दा दुई घण्टा अघि समाप्त भएको बेलामा वैष्णव वा भागवत एकादशी हुन्छ।अर्थात एकादशी के दिन सूर्योदय भन्दा ९६ मिनेट अगाडि नै स्मार्त एकादशी समाप्त भइसकेको हुन्छ । सामान्यतः वैष्णव एकादशी ,स्मार्त एकादशी को भोलीपल्ट पर्दछ । स्मार्त भन्नाले हरि, शिव, शक्ति, गणेश र सूर्यको पूजा गर्ने गृहस्थहरूलाई भनिन्छ, उनीहरूले उदाउँदो तिथीलाई खासै महत्त्व दिँदैनन्। जन्माष्टमी, रामनवमी, एकादशी एक दिन अघिको तिथीसँग मिलाएर मनाउने सबै गृहस्थहरूलाई स्मार्त भनिन्छ। वासुदेव, श्रीकृष्ण वा भगवान् विष्णुलाई मात्र मान्नेलाई वैष्णव भनिन्छ र सबै तपस्वीहरू र गुरु धारण गरेका सन्यासीहरु पनि वैष्णवको श्रेणीमा आउँछन्। वैष्णव सम्प्रदायमा उदय तिथीको ठूलो महत्व छ जसरी एकादशीलाई द्वादशीसँग मिलाएर मनाउने गरिन्छ । अपरा एकादशीलाई अचला एकादशी पनि भनिन्छ । यो एकादशीलाई भगवान् श्री विष्णुको नाममा समर्पण गर्ने हार्दिक इच्छा छ । दीर्घ स्वास्थ्य अनि आनन्दमय जीवनको स्थपानार्थ वैदिक कालदेखि नै यो एकादशीको महिमा अपरम्पार मानिँदै आएको छ । अपरा एकादशीको महिमा स्वयं भगवान् श्री कृष्णले युधिष्ठिरलाई ब्रह्माण्ड पुराणमा बताउनु भएको छ, त्यसको सरल नेपाली अनुवाद आज यस पावन एकादशीमा प्रस्तुत गर्ने जमर्को छ । एक दिन युधिष्ठिरले जनार्दनलाई सोध्छन्, ‘ज्येष्ठ महिनाको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो रु’ यस एकादशीको महिमा सकल वर्णन गर्न अनि हरिको कृपा सार–संक्षेपमा बुझाउन युधिष्ठिरले श्रीकृष्णसँग आग्रह गर्छन् । श्रीकृष्णले बडो आदर अनि प्रेमका साथ उजागर गर्छन्, ‘राजा तपाईँले राम्रो प्रश्न सोध्नुभयो, यस प्रश्नको उत्तरले समग्र मानव समाजलाई नै कल्याण गर्नेछ । यस एकादशीको काव्यात्मक रस, भक्ति प्रसङ्ग अनि पावन कृपाले समग्र मानव जगको कल्याण हुनेछ ।’कृष्णजीले थप्दै थपे, ‘हे राजन, ज्येष्ठ महिनाको यस पावन एकादशी अपरा एकादशी हो । यस एकादशीमा व्रत बसेर महिमा गर्ने भक्त विश्वमै विख्यात हुनेछन् । गौहत्या, ब्राह्मण हत्या, भ्रूणहत्या या परस्त्री गमन जस्ता महापाप पनि यस एकादशीको व्रत र भक्ति अनि प्रायश्चित गर्नाले कट्नेछ । ब्राह्मणको वास्तविक अर्थ कुनै जात, धर्म या थरसँग सम्बन्धित नभईकन ज्ञान प्राप्तिका लागि परेका सबैलाई ब्राह्मण श्रेणीमा गणना गरिएको सार अवगत गराउन चाह्यौँ ।’ श्री कृष्ण आज्ञा गर्नुहुन्छ, ‘हे राजन, ती व्यक्तिहरू जसले लगत बयान दिन्छन्, सत्यको पक्षमा नलागी असत्यका लागि षडयन्त्र गर्छन् तिनीहरू अत्यन्त पापी ठहरिन्छन् । वेद गलत व्याख्या गर्ने या पढ्ने, आफ्नो कर्तव्य नगर्ने, अरूलाई ठग्ने, खराब पेसा गर्नेहरू सबै महा पापी हुन् ।’श्रीकृष्ण भन्नुहुन्छ, ‘यी सबै महापापीहरूले आफ्नो पापको प्रायश्चित गर्न यस एकादशीमा भक्ति भाव अनि हरिको शरण परेमा पाप मोचन हुन सक्नेछ ।’ हे राजन, ‘म अपरा एकादशीको थप वर्णन गर्दछ ।’ श्रीकृष्णले भन्दै जान्छन् र युधिष्ठिर श्रवण गर्दै जान्छन्, ‘कार्तिक मासमा पुष्कर क्षेत्रमा दैनिक ३ पटक स्नान गर्दा झैँ, माघ मासमा प्रयाग क्षेत्रमा स्नान गरे झैँ, बनारसमा शिवरात्रिको दिनमा आराधना गरेझैँ, गयामा पितृलाई पिण्ड दान गरे झैँ, सिंह राशिमा बृहस्पति प्रवेश गर्दा गौतम नदीमा पवित्र स्नान गरे झैँ, केदारनाथमा शिवको दर्शन गरे झैँ, कुम्भपालामा बद्रीनाथको दर्शन गरे झैँ, कुरुक्षेत्रमा स्नान गरेर गौ या कुञ्ज दान गरे झैँ अपरा एकादशीको व्रत बस्नाले पुण्य प्राप्त हुनेछ ।’यो दिन व्रत नबस्नेहरू फेरि धर्तीमा जन्म हुनुपर्ने बाध्यता रहन्छ, परमात्मा लीन निम्ति यस दिनको महत्त्व धेरै छ । बिहान उठेर सूर्योदय अगावै स्नान गर्ने, भगवान् विष्णुलाई तुलसीको पात, धूप अनि बत्ती बाल्ने, भगवान् विष्णुका मन्दिर दर्शन गर्ने, मन्दिर परिसर या घरमा सबै जना मिलेर वाचकको मुखारबिन्दबाट अपरा एकादशी महात्मै श्रवण गर्ने गरिन्छ । व्रतालुहरूले फलाहार मात्र सेवन गर्ने या कहीँ कतै निर्जलसम्म पनि व्रत लिने गरिएको पाइन्छ । तथापि एकादशी महत्मयको श्रवणपश्चात् फलाहारका रूपमा कन्दमूल ग्रहण गर्न उचित मानिन्छ । यस एकादशीमा अन्न सेवन अनि शरीरमा तेलको प्रयोग नगर्न सल्लाह दिइन्छ । यी सबै कुराहरूको वैज्ञानिक महत्त्व पनि उत्तिकै छ ।स्मरण रहोस्, एकादशी व्रतमा खानाको मात्र नियन्त्रण भई नकारात्मक सोच र तनावको नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी भएको विश्वास गरिन्छ । विष्णु सहस्त्रानामको पाठ एकादशीमा अपरिहार्य मानिन्छ । यस दिन त्रिविकर्मको आराधना गरिन्छ । पाप मोचन अनि प्रायश्चितका लागि यस एकादशी भन्दा महत्त्वपूर्ण अन्य तिथिहरू कमै पाइन्छ ।अपारको अर्थ हो, अनन्त या सीमा नभएको, यस एकादशीको महिमा अनि फल अपार भएकाले नै यस संज्ञा प्रयोग गरिएको हो । यस एकादशीको विभिन्न अन्य नामहरू पनि छन्, जस्तै जलक्रीडा एकादशी, भद्रकाली एकादशी इत्यादि । भजन कीर्तन अनि पवित्रताको साथै भक्ति भावको सामीप्ययतामा यस एकादशी गुज्रियोस् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस
विसं २०६३ अगाडि छुवाछुत विरुद्ध नेपाली कानुन व्यवस्था के थियो ?आजभन्दा ५९ वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहार मा जातीय भेदभाव रहिरहेको नै थियो । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस को परिवेश२१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो । कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय, वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव भनिन्छ । नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अङ्ग सोसरह मान्यता दिइएको छ । कुनै पनि व्यक्ति समाज, सरकार या समूहले कसैलाई जातीय आधारमा विभेद गर्नु र उनीहरूको मर्यादा माथि आघात पूर्याउनु दण्डनीय छ, स्वतन्त्र अनि समान नेपाली समाजमा जातीय उत्पीडनका इतिहासलाई समापन गर्दै नयाँ पानाहरू कोरौँ । आजको दिनको महत्त्व मनन गरौँ, सबैको जय होस ।

Like