आज गोसाइकुण्ड स्नान आरम्भ, गंगा दशहरा स्नान आरम्भ

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २५,

ॐ अस्य श्री भगवान नीलकंठ सदा-शिव-स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म-स्थै-आर्यु-आरोग्य-अभिवृद्धयर्थं, मोक्षादि-चतुर्वर्ग-साधनार्थं च श्री नीलकंठ-सदाशिव-प्रसाद-सिद्धयर्थे जपे विनियोगः।
गोसाईंकुण्ड स्नान आरम्भ
समुद्र मन्थन गरेर निस्किएको विषबाट सारा जगतलाई जोगाउन भगवान् शिवले पिएको त्यो विष घाँटी अड्किएको र त्यो विषसहित निलाद्री पर्वत पुग्नुभएको विश्वास छ । सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु पर्‍यो भनी भगवान् शिवसमक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए । तर त्यो विष घाँटीमा अड्किएपछि छटपटी शान्त पार्न भौँतारिँदा शिव भगवान् निलाद्री पर्वतमा पुगी त्रिशूल भित्तामा प्रहार गर्नुभयो । त्यसपछि त्यहाँ धारा बनेको र त्यही धाराबाट बगेर आएको पानीले कुण्ड बनेको विश्वास गरिन्छ । त्यही कुण्डमा भगवान् शिवले विषको औडाह शान्त पारी त्यही आफू रहनु भएको धार्मिक विश्वास छ । त्यसैले पनि गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ । जीवनमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्ड हो । आजको दिनबाट हजारौँ भक्तालुहरू अनेक जनविश्वासका साथ बर्सेनि कुण्डमा स्नान गर्न जाने परम्परा छ । काठमाडौँबाट उत्तरी दिशाको रसुवा जिल्लामा पर्ने पवित्र तीर्थ गोसाईंकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने गर्छ । यसरी दशमीसम्म चल्ने पवित्र स्नानको शृङ्खलालाई दशहरा स्नानका रूपमा पनि लिइन्छ । दशहरा स्नान अवधिभरि सनातन दर्शनका अनुयायीले सखारै उठेर कुण्डमा जाने अनि स्नान गर्ने चलन छ । ज्येष्ठ महिनाको गर्मीमा अनि धानको रोपाइँ सुरु हनुअघिको दशहरा स्नानले कृषि कार्य र आउँदो वर्खायामका लागि तयारी गराउँछ ।
दशहरा स्नान आरम्भ
ज्येष्ठ शुक्ल प्रतिपदाको महत्त्व अत्यधिक छ । आजको तिथिमा नै वैदिक कालमा भागीरथीले गङ्गाको पृथ्वी लोकमा आगमन गराएका हुन् । यस अगाडि पवित्र गङ्गा देवलोकमा मात्र बहने गरेको तर यसपछि गङ्गाको अवतरण पृथ्वी लोकमा भएको विश्वास छ । यसरी ज्येष्ठ शुक्ल प्रतिपदाको माता गङ्गाको आगमनको तिथिमा तुलसीको वीज रोपेर अनि पवित्र स्नानको शृङ्खलाहरू सुरु गर्ने चलन छ । यिनै स्नानको शृङ्खलालाई दशहरा स्नान भनिन्छ । प्रतिपदादेखि एकादशीसम्म १० दिन चल्ने पवित्र स्नानका यी शृङ्खलाहरूमा हरेक दिन एक प्रकारको पाप नाश हुने विश्वास छ । यसरी दश दिनमा दश प्रकारका पापहरूबाट मुक्ति पाउने भएकाले नै दशहरा स्नान भनिएको हो । ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विना यज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, पर निन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पुर्‍याउने इच्छा राख्नु र विना कारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

Like