गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप लगाउदै संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ६,

मुलुकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित गरी विभिन्न प्रश्नहरू उठाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले थापालाई लक्षित गर्दै कृषि अनुदानको रकम हिनामिना गरेकोदेखि देशको सूचना बेच्ने एजेन्टसम्मको आरोप लगाएका छन् । गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री थापालाई लक्षित गर्दै २०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भ्रष्टाचार भएको ३० लाखभन्दा माथिको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको समाचार आएको, त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउँछु भनेर ५ लाख पेस्की लिएर वेबसाइट नबनाएको समाचार आएको, व्यावसायिक कृषि आयोजना प्याक्टबाट सुनखानी कृषि फार्मको नाममा १५ करोड लिएर नुवाकोटमा बाख्रा फारम र काठमाडौँको गोल्फूटारमा मासु पसल खोलेको र अनुदान लिएपछि बन्द गरेको समाचार आएको बताए । संसदमा बोल्दै उनले भने,‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ, संसदबाट हटाऔँ । जतिसुकै शक्तिशाली होस, देशको मन्त्री होस वा पार्टीको महामन्त्री किन नहोस् ।’ रकम हिनामिनाको आरोप लागेपछि प्याक्टलाई प्रभावमा पारेर रकम नलिएको विज्ञप्ति निकाल्न लगाइएको र सो विषयमा साउथ एसिया नामको संस्थाले फ्याक्ट चेक गरेको तर पछि वेवसाइटबाट गायव पारिएको बताए । उनले यसरी हेडलाइनमा आएका व्यक्तिलाई पनि संसदीय छानबिन गर्ने हो भने आफूबाट संसदीय छानबिन सुरु गर्न आग्रह गरे । यस्तै स्वास्थ्य मन्त्री भएका बेला १४ करोड लिएर प्राध्यापक राजकुमार रौनियारलाई बिपी स्वास्थ्य प्रतिष्ठानमा कुलपति बनाएको र उनलाई पैसा बुझाउनुपर्ने भन्दै मान्छेहरू हिँडेको कुरा समाचारमा आएको उल्लेख गरे । उनले भने,‘१५ वर्षदेखि संसद्को लास्ट सीटदेखि फ्रन्ट सिटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठुलो स्वर गर्नेहरूलाई हेक्का रहोस्, यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन । आफैँ सरकारमा बसेर यसलाई बाहिर पठाऊ, उसलाई बाहिर पठाऊ भन्नुको साटो प्रमाण जुटाएर कारबाही गर्ने आँट गरेको भए हुन्थ्यो । अप्रमाणित हल्ला र मिडिया ट्रायललाई लिएर संसद्लाई लेक्चर दिनुभयो काम गर्नुभयो ।’ उनले थापालाई चुनौती दिँदै आफूले निवेदन दिएर ऋण मागेको प्रमाण रहेको बताएकोमा सो प्रमाण सार्वजनिक गर्न आग्रह गरे । पोखराको सूर्यदर्शन सहकारीको छानबिन समितिमा नेपाली कांग्रेसकै कार्यकर्ता रहेको बताउँदै बिना आधार र प्रमाण छानबिन प्रतिवेदन बनाएको उल्लेख गरे । उनले आफूले सहकारीको ऋण लिएको प्रमाण पेस गर्न पटक–पटक चुनौती दिँदै मिडियामा आएको हेडलाइनका आधारमा व्यक्ति केन्द्रित छानबिन समिति बनाउन नसकिने प्रष्ट पारे ।

Like