करोडौं रकमको स्रोत लुकाउने अग्रवालसहित ४ जनाविरुद्ध मुद्दा दायर

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ६,

मुलुकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अमेरिकी डलरसहित करोडौं रकमको स्रोत पुष्टि गर्न नसक्ने ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। विभागले अग्रवाललाई ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो मागदाबी गरेको छ। त्यस्तै दिवस कार्कीलाई ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ, दीपक शाह ठकुरीलाई ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ र मनमोहन साह कलवारलाई ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो मागदाबी गरिएको छ। अग्रवालले दिवस कार्कीको नाममा बैंक खाता खोली भूमिगतरूपमा मुद्राको कारोवार गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसुची १ को खण्ड (भ) सम्बन्धी कसूर गरेको विभागको अनुसन्धानबाट खुलेको छ। उनीहरूले गैरकानुनी स्रोत लुकाउने, छल्ने र बैकिङ प्रणालीमा स्थापित गरी सोको अधिकार स्वामित्व प्राप्ति गर्ने कार्यमा संलग्न भई दफा ३ को उपदफा (३) बमोजिमको सम्पत्ति शुद्धीकरणको कसूर गरेको तथ्य स्थापित भएको विभागको भनाइ छ। उनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना, कसुरको गाम्भीर्यता अनुसार कैद सजाय माग गरिएको छ भने अग्रवालका नाममा दर्ता रहेको बा१९च १०१७ नम्बरको सवारी साधन-१ र उनीहरूका बैंक खाता र बरामदी रकम समेत जफत गर्न मागसमेत गरिएको छ।

Like