भिजिट भिसामा देश छोड्ने ह्वात्तै बढेपश्चात मुलुक नै खालि हुने डर

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २३,

मुलुकमा भिजिट भिसामा नयाँ मापदण्ड आएसँगै बिदेसिने नागरिकको संख्या ह्वात्तै बढेको छ। गृह मन्त्रालयले माघ १० गतेदेखि भिजिट भिसामा जाने नागरिकको लागि नयाँ मापदण्ड जारी गरेसँगै यो संख्या झन्डै दोब्बरले बढेको हो। अहिलेकै समयमा ठीक एक वर्ष पहिलेको तथ्यांक हेर्ने हो भने माघ १० देखि फागुन १५ गतेसम्म ३६ हजार ८ सय ४८ जना भिजिट भिसामा विदेश गएका छन्। त्यस्तै अघिल्लो वर्षकै पुस ८ देखि माघ ९ गतेको तथ्यांक हेर्ने हो भने यो बीचमा ३३ हजार ५३ जना भिजिट भिसामा विदेश गएका छन्। मापदण्ड लागू हुनुपूर्व अघिल्लो वर्ष यहीँ महिनामा दैनिकी १२ सयको हाराहारीमा भिजिट भिसामा विदेश गएको पाइएको छ भने नयाँ मापदण्ड लागू भएसँगै यो संख्या बढेर दैनिकी १५ सय पुगेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार भिजिट भिसामा नयाँ मापदण्ड लागू हुनुपूर्व नेपालको बाटो हुँदै दैनिक करिब ९ सय ७५ नागरिक भिजिट भिसामा बाहिरिने गर्दथे। तर नेपाल सरकारले माघ १० गतेदेखि भिजिट भिसामा नयाँ मापदण्ड लागू गर्‍यो। यससँगै यसअघिको संख्या बढेर दैनिकी १५ सयको हाराहारीमा पुगेको छ। नयाँ मापदण्ड लागू भएको माघ १० देखि फागुन १५ सम्मको तथ्यांक हेर्दा यसबीच ४२ हजार ६ सय २८ जना भिजिट भिसाको नाममा बाहिरिएका छन्। यसैको ठीक अघिल्लो महिना अर्थात् भिजिट भिसामा नयाँ मापदण्ड आउनुभन्दा अघिल्लो एक महिनामा २९ हजार २ सय ९६ जना भिजिट भिसामा बाहिरिएका छन्। भिजिट भिसामा नयाँ मापदण्ड आएसँगै भिजिट भिसामा विदेश जानेको संख्या बढेको अध्यागमनका कर्मचारी बताउँछन्। हाकिम दिएको ‘स्वविवेक’ अधिकारको कहीँ कतै दुरुपयोग हुन थालेपछि गृह मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको थियो। हाकिमको ‘स्वविवेक’ अधिकारभन्दा पनि निश्चित मापदण्ड तोकिएपछि भिजिट भिसामा जानेको संख्या बढेको अध्यागमनका कर्मचारी बताउँछन्। “हाकिमलाई ‘स्वविवेक’ अधिकार दिँदा बेलाबेलामा अध्यागमनका कर्मचारी माथि नै प्रश्न उठ्ने गरेको थियो तर यो मापदण्ड आएपछि हामीलाई पनि ठीक भएको छ” उनीहरूको भनाइ थियो। केही कर्मचारीले अधिकारको दुरुपयोग गर्दा समग्र कर्मचारी माथि नै प्रश्न उठ्ने गरेको भन्दै अब निश्चित मापदण्ड बनाएपछि त्यो समस्या अन्त्य भएको उनीहरूको भनाइ छ। सरकारले भिजिट भिसामा यसअघिको १७बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको थियो। भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्टसहित नयाँ मापदण्ड ल्याएको थियो। जसअनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ। यस्तै सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ। यस्तै दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने भनिएको छ। यस्तै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलरबराबरको नगद सटही भएको प्रमाण पनि हुनुपर्ने भनिएको छ। यस्तै संयुक्त अरब इमिरेटस्, बहराइन, कुबेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा फारम अनिवार्य गरिएको छ। हाकिमको ‘स्वविवेक’का कारण अध्यागमनमा सेटिङ बढेको भन्दै सञ्चारमाध्यमले पटकपटक खबरदारी गरेपछि सेटिङलाई अन्त्य गर्न भन्दै भिजिट भिसामा जानको लागि निश्चित मापदण्डसहित गृह मन्त्रालयले माघ १० गतेदेखि नयाँ मापदण्ड लागू गरेको थियो। स्वघोषणा फारमसहित ६ बुँदाको मापदण्ड जारी गरेपछि एयरपोर्टमा आर्थिक चलखेलसमेत बन्द भएको जानकारहरू बताउँछन्। भिजिट भिसा भन्नेबित्तिकै पैसाको बार्गेनिङ हुने गरेको र यो मापदण्ड आएपछि पैसाको बार्गेनिङ अन्त्य भएको जानकारहरूको भनाइ छ। भिजिट भिसा अर्थात् पर्यटक भिसामा नेपाली नगरिक विदेश गएर कति नेपाली सही समय फर्किए भन्ने यकिन तथ्यांक कतै भेटिँदैन। भिजिट भिसा अर्थात् पर्यटक भिसामा विदेश गएर काम गर्न नहुने नेपाल सरकारले पटकपटक सूचना जारी गरे पनि पछिल्लो तथ्यांक हेर्दा भिजिट भिसामा विदेश पुगेका नागरिक काम खोजेर उतै बसेका छन् भन्ने देखाउँछ।

Like