यी प्रदेशमा आज कर्णालीसहित हिमपात

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २३,

मुलुकमा आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Like