पूर्व-पश्चिम लाईफलाइन १२ घण्टादेखि ठप्प
रासंसा/काठमाण्डौ, फाल्गुण २१,
मुलुकमा पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अझै सुचारु हुन नसक्दा यात्रुहरू मारमा परेका छन्। एकजना यात्रुले भने, ‘मध्यरातिदेखि आवतजावत ठप्प छ। कसैले खुलाउने पहल अहिलेसम्म गरेको छैन। बालबालिका, वृद्धवृद्धाहरूको बेहाल छ। खानेकुरा र पानीको पनि छैन।’ गयराति १० बजेदेखि नै वर्षाका कारण सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम राजमार्ग हुँदै गुड्ने सवारीसाधनहरू बीच बाटोमै ठप्प भएका छन्। जसका कारण सैयौँको सङ्ख्यामा यात्रुहरू अलपत्र परेका हुन्। गन्तव्यसम्म पुग्न १४ देखि १८ घन्टा लाग्ने भएपनि आज बिहानसम्म पनि सडक खुलाउन कसैले मतलब नगरेको यात्रुहरूले गुनासो गरेका छन्। काठमाडौँबाट धनगढीका हिँडेका नृप विष्ट आइतवार साँझ ५ बजे बसमा चढे। तर, अझै धनगढी पुग्ने ठेगान छैन। अर्का यात्रु बिरू गिरीको पनि अवस्था उस्तै छ। आइतवार साँझ काठमाडौँबाट दाङका लागि हिँडेका उनी पनि सडक अवरुद्धका कारण भएको जाममा फसेका छन्। नागरिक न्यूजसँग कुराकानी गर्दै उनले भने, ‘काठमाडौँबाट हिँडेको म यतिबेला बाँकेको कोहलपुर पुगिसकेको हुन्थे। तर, नवलपरासीको दाउन्नेको जामका कारण फसेको छु। आज कतिबेला पुग्ने हो या भोलि पुगिन्छ ठेगान छैन।’ यी प्रतिनिधि पात्र मात्रै हुन्। पूर्व–पश्चिम राजमार्ग हुँदै गुड्ने दुबै तर्फका सवारी साधन बीचमै अलपत्र परेका छन्। जसका कारण यात्रामा हिँडेका यात्रुहरूको पनि बिचल्ली भएको छ। उनले भने, ‘राति नै सडक अवरुद्ध भयो। यस विषयमा प्रहरी वा ट्राफिकलाई जानकारी भयो होला। यत्रो बेर हुँदा पनि किन आएन कोही थाहा छैन। यसरी सरकारी निकाय नै मौन हुँदा यात्रुहरू झन् बिचल्लीमा परेका छन्।’