अन्य थपअर्थतन्त्रदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

गृहमन्त्री श्रेष्ठ भने ध्यान केन्द्रित गराउँदै, प्रहरी भने प्रदर्शनकारीमाथि आक्रामक बन्दै

Share to:

रासंसा/काठमाण्डौ, पौष २१,

मुलुकमा शनिबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा ध्यान शिविर चलाए । ऊर्जा जागरणको एक दिवसीय कार्यशालामा गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर लगायतका प्रहरी सङ्गठनका उच्च अधिकारीहरू सहभागी भएर योग अभ्यास, प्राणायाम गरे । सो कार्यशालामा प्रशिक्षक रमेश नेपालले दुई सय भन्दा बढी प्रहरीलाई योगाभ्यास सिकाए । गृहमन्त्रीले प्रहरीलाई ध्यान गराएको यो पहिलो कार्यक्रम भने होइन । गृहमन्त्री श्रेष्ठले झन्डै ४ महिना अघिदेखि प्रहरीलाई ध्यान गराउन थालेका हुन । गत असोज ६ गते सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रहरी संगठनमा योग ध्यानको कार्यक्रम उनले अघि बढाएका थिए । सो अवसरमा गृहमन्त्री श्रेष्ठले ध्यानलाई धर्मसँग नभई विज्ञानसँग जोडेर हेर्नुपर्ने, स्वजागरणका रूपमा हेर्नुपर्ने र आफूलाई चिन्न, बदल्न, असल बन्न तथा स्वच्छ बन्न ध्यान आवश्यक हुने बताए । प्रहरीलाई व्यावसायिक, असल, शान्त बनाउन गृहमन्त्रीले यस्तो अभियान थाले पनि पछिल्लो समय विरोध प्रदर्शनका कार्यक्रमहरूमा भने प्रहरी आक्रामक बन्दै गएको छ । यस्ता विरोध प्रदर्शनहरूमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको पछिल्ला घटनाक्रमहरूले प्रष्ट पारेको छ भने संसदीय समितिले समेत गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जवाफ माग्ने काम गरेको छ । हालैको केही उदाहरण हेर्ने हो भने गत पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियामा रोजगारीका लागि जान चाहने युवाहरूको विरोध प्रदर्शन माथि प्रहरीले गोली चलाउँदा २ जना युवाको ज्यान गएको थियो । त्यसको एकसाता अवधिमै पुस २० गते सर्लाहीको बरथहवामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्का एक युवाको पनि ज्यान गएको छ । शनिवार गृहमन्त्री श्रेष्ठ प्रहरी उच्च अधिकारीहरूसहित ध्यान कार्यक्रममा व्यस्त भइरहेका बेला यता माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पुगेका डा.गोविन्द केसीको समूहमाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले एक प्रदर्शनकारीको घाँटीमा समाएको फोटो यो समाचार अघि प्रकाशन पूर्व रातोपाटीमा प्रकाशित भइसकेको छ । यी घटनाबारे उल्लेख गर्दै शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘लोकतन्त्रमा राज्यको यस्तो छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनै पर्छ ।’ भन्दै सरकार विरुद्ध आक्रोश पोखेका छन् । नेपाल प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले प्रहरीले जुलुसमा बल प्रयोग बढाएको हो भन्ने प्रश्नमा घुमाउरो जवाफ दिए । रातोपाटीसँगको कुराकानीमा उनले नेपालमा अहिलेको राजनीतिक, आर्थिक परिवेश अनुसार नागरिकका केही स्वाभाविक र परिस्थितिजन्य किसिमका मागहरू रहेकोले त्यसको उचित किसिमले सम्बोधन हुनुपर्ने बताए । माग राख्दा शान्तिपूर्वक प्रदर्शन गर्नुपर्ने उनले बताए । उनले आन्दोलनका स्वाभाविक तथा अस्वाभाविक दुवै अवस्थाहरू रहेको बताउँदै त्यसमा नागरिकको जिउ र धन सुरक्षामा प्रहरी संवेदनशील रहेको बताए । उनले प्रहरीका साथै सबै पक्ष संवेदनशील हुनुपर्ने उल्लेख गरे । कडायतले भने–‘प्रहरीतर्फ औँला तेर्साउँदा आफूतर्फ फर्किने प्रश्नहरू पनि त्यतिकै छन् भन्ने बुझ्न आवश्यक छ । सबैका आफ्ना जिम्मेवारीहरू छन्, यसलाई आत्मबोध गर्नुपर्छ जस्तो लाग्छ । निश्चित रूपमा हरेकका कहीँ कमजोरीहरू छन् भने त्यसलाई सम्बोधन गर्नेतर्फ संगठन सधैँभरि चिन्तनशील र दत्तचित्त रहन्छ ।’ प्रहरी प्रवक्ता कडायतले भने–‘ अहिले विभिन्न ठाउँमा आफ्ना तह र तप्काका आफ्ना मागहरू प्रदर्शित भइरहेका छन् । माग पूरा गराउनका लागि संसारभरि नै शान्तिपूर्वक प्रदर्शन हुनुपर्दछ । लोकतन्त्रमा आफ्नो माग राख्दा खेरी आफ्नो अधिकारको माग गर्दा अरूको अधिकार सङ्कुचित गर्नुहुँदैन भन्ने तर्फ पनि नागरिक समाज, राजनीतिक समाज, व्यक्तिगत समूह, प्रबुद्ध वर्ग, सञ्चार जगतपनि सचेत रहनुपर्छ । आफ्ना माग राख्दा स्वस्थ किसिमले राख्नुपर्छ । उच्छृङ्खलतामा परिणत गर्नुहुँदैन । अर्काको धनजनको क्षति गराउनु हुँदैन भन्ने तर्फ सुरक्षा निकाय, प्रबुद्ध वर्ग, राजनीतिक नेतृत्वदेखि सञ्चार जगत सचेत हुनुपर्ने कुरा हो ।’ सुरक्षाविद् हेमन्त मल्ल भन्छन्–‘जुलुस भिड नियन्त्रणका लागि प्रहरीलाई गैर घातक सामग्री दिएर पठाउनुपर्छ’ कुराकानीमा मल्ले भने–‘सरकारी सेवा प्रदायक कार्यालयहरूबाट नागरिकलाई दिने हैरानीका कारणबाट उत्पन्न फ्रस्टेसन पोखिने भनेको बाटो नै हो । पहिलो सम्बोधन त्यहीँबाट गरिदियो भने भीडको आक्रोश बाटोमा कम देखिन्छ ।’ नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल विरोध प्रदर्शनका क्रममा हुने भीड नियन्त्रणका लागि सरकारी सेवा प्रदायक निकायबाट सहज सेवा दिनुपर्ने र प्रहरीलाई भीड नियन्त्रणका लागि पठाउँदा घातक हतियार नदिई गैर घातक सामग्री दिएर पठाउनुपर्ने बताउँछन् । उनले जुलुस तथा भीड नियन्त्रणका लागि गैर घातक सामग्री पर्याप्त मात्रामा प्रहरीलाई दिए क्षति कम हुने औँल्याएका छन् । प्रहरीलाई भीड नियन्त्रणका लागि गैर घातक साधन कम भएपछि प्रहरीले आफूसँग जे हतियार छ त्यही प्रयोग गर्दा जुलुस तथा भीड नियन्त्रणमा दुर्घटनाको सम्भावना बढ्ने उल्लेख गरे । साथै प्रहरीलाई पर्याप्त तालिम तथा बिफ्रिङ पनि चाहिने उनले बताए । पूर्व डिआइजी मल्ल भन्छन्–‘प्रहरीतर्फ समस्या के देखिन्छ भने, जुलुस नियन्त्रणमा लिन राइफल बोकेर पठाइरहेको छ, बल प्रयोगका लागि गैर घातक सामग्री दिनुपर्ने हो । त्यसका लागि रबरको गोली हुनसक्छ, पानीको फोहोरा हुन सक्छ, अश्रुग्याँस हुनसक्छ, बेतको लौरी हुनसक्छ । अहिले प्रयोग भइरहेको कठबाँसको लट्ठी पनि घातक छ । दुर्घटनाको मुख्य कारण नै भिड नियन्त्रणका लागि प्रयोग हुने घातक हतियार हो ।’ उनी भन्छन्–‘प्रहरीलाई नियमित हुनुपर्ने तालिममा पनि केही न केही कमजोरी छ । प्रहरीको कार्यशैलीलाई पनि केही न केही रूपमा सुधार्नुपर्ने हुन्छ । यसका साथै भीड नियन्त्रणका लागि पर्याप्त साधन नहुँदा प्रहरीमा असुरक्षाको भावना पनि हुन्छ । उदाहरणका लागि जमानादेखि कुरा आइरहेको छ, प्रहरीले प्रयोग गरेको अश्रुग्याँस म्याद गुज्रेको छ ।’ सडक प्रदर्शन वा विरोध प्रदर्शनमा हुने दुर्घटनामा एउटा पक्षको मात्र कमजोरी नभई प्रहरी तथा सरोकारवाला निकाय वा पक्षको पनि कमजोरी हुने बताए । उनले मुख्य रूपमा सडक प्रदर्शन वा भीड नियन्त्रणका लागि गैरघातक हतियार प्रयोगलाई जोड दिए । उनी अगाडि भन्छन्–‘म्याद गुज्रेको अश्रुग्याँस जता हान्न खोजेको हो त्यता जाँदैन, अर्को नपड्किने सम्भावना पनि हुन्छ । ग्याँस पड्किएन, नियन्त्रण गर्ने साधन भएन भने प्रहरीले आफूलाई असुरक्षित ठान्छ । त्यस्तो अवस्थामा बढी बल प्रयोगको सम्भावना हुन्छ ।’ उनले भने–‘२०६२–६३ सालको आन्दोलनमा हेर्ने हो भने त्यतिबेला त्यति धेरै दुर्घटना भएको छैन । त्यसको सबैभन्दा ठुलो कारण भनेका रबर बुलेट हो । त्यतिबेला भीडमा रबरको गोली र अश्रुग्याँस बढी प्रयोग गरिएको थियो । त्यस कारणले त्यो बेला दुर्घटना धेरै कम भएको थियो । अहिलेको अवस्थामा जस्तो बल प्रयोग हुने हो भने त्यो बेला धेरै ठुलो दुर्घटना हुन सक्थ्यो ।’ उनले दंगा नियन्त्रणका लागि प्रहरीलाई नियमित तामिल, ब्रिफिङ र गैर घातक सामग्रीको पर्याप्त व्यवस्था गर्दा भीड नियन्त्रण गर्दा दुर्घटनाको जोखिम कम हुने उल्लेख गरे । मल्लले अगाडि भने–‘मुख्य कुरा भनेकै कम क्षतिमा भीड नियन्त्रण गर्ने साधनहरु दिइनुपर्छ । मैले जहिले पनि भन्दै आइरहेको छु, अहिले प्रहरीलाई कठबाँसको लौरो दिइएको छ, पहिला–पहिला बेतको लट्ठी दिइन्थ्यो । बेतको लट्ठीले चोट लागे पनि त्यसले धेरै कम चोट लाग्छ । त्यस कारण रबर गोली, बेतको लट्ठी, पानीको फोहोरा लगायत कम क्षति हुने खालका गैरघातक सामग्री पर्याप्त मात्रामा प्रहरीलाई दिइनुपर्छ । अहिले प्रहरीलाई जुलुस नियन्त्रण गर्न इन्सास र एसएलआर राइफल दिएर पठाएपछि त्यही नै त प्रयोग गर्छ ।’

Like