प्रधानमन्त्री दाहालको भनाई बालकुमारी घटना सामान्य होइन

Share to:

रासंसा/काठमाण्डौ, पौष १७,

मुलुकमा सरकार र बालकुमारी घटनामा मृत्यु भएका पीडित परिवारबीच सोमबार चारबुँदे सहमति भएको छ । गत शुक्रबार ईपीएस कोरिया शाखा कार्यालयमा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवाका परिवारसँग सरकारले सहमति गरेको हो । वार्तामा सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्रका बाबु टेकबहादुर शाह तथा सुजनका मामा टेकबहादुर कटुवालको उपस्थिति रहेको थियो । सो सहमति अछाम क्षेत्र नम्बर १ का सांसद शेरबहादुर कुँवर, दैलेख–२ का सांसद दिक्पालकुमार शाही, दैलेख–१ का अम्मरबहादुर थापा, अछाम–२ का सांसद पुष्पबहादुर शाह र दीपाकुमारी शर्माको रोहवरमा गरिएको हो । मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा एक–एक जनालाई उपयुक्त खालको रोजगारी दिने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाही गर्न गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने र मृतकका परिवारले सोमबार नै शव बुझीलिने र मृतकको पार्थिव शरीरलाई गृहजिल्लामा पु-याउन गृहमन्त्रालयले प्रबन्ध मिलाउने सहमतिपत्रमा उल्लेख गरिएको छ । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारीमा गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी भएको घटना बाहिर देखिएजस्तो नभएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान मात्रै क्याबिनेटबाट सरकारले गर्नुपर्ने र गर्नसक्ने जति काम तुरुन्तै गरिएको बताए । मृतकका परिवारलाई रोजगारी र शहीद घोषणाका कुरा भने राजनीतिक छलफलपछि गरिने उनले बताएका थिए । ‘चिज त्यस्तो छैन, जस्तो देखिएको छ, त्यसभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु, यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ? मसँग अहिले कुनै प्रुफ छैन, त्यसैकारण मैले तुरुन्तै त्यससँग सम्बन्धितलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ भनेर भनेको हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटारमा बोलाएर गम्भीर ढंगले समीक्षा गरिएको छ ।’ उनले बालकुमारी घटना कसैले पूर्वानुमान गर्नसक्ने खालको नभएको बताए । ‘म त्यो दिन पूर्वनिर्धारित कार्यक्रममा दोलखामा थिएँ, आउँदाआउँदै नै मैले थाहा पाएँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तुरुन्तै अर्को दिन बिहान घटनाक्रमको ब्रिफिङ लिइयो, म अहिले सबै भन्न चाहन्नँ, केही चिज गम्भीर लागेको छ, सामान्य छैन यो ।’ यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनामा गृहमन्त्री पनि जिम्मेवार भएकाले राजीनामा दिनुपर्ने निष्कर्ष एमालेको छ । घटना तोडमोड गरेर प्रस्तुत भएको भन्दै उनले आपत्तिसमेत जनाए । सांसद राईले समस्याको समाधान गर्न पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सांसद राईले मन्त्रीका पीएसओ र फिल्ड कमान्डर, डीएसपीलाई कारबाही गरेर नहुने भन्दै आईजी वा गृहमन्त्रीलाई कारबाही हुनुपर्ने माग राखे । सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले बालकुमारी घटनामा कमजोरी देखिएकाले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताए । ‘युवाले विदेश गएर गरिखान माग गर्दा ताकीताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिए कसले दिन्छ ?’ गृहमन्त्रीकै अगाडी राईले भने, ‘समस्या समाधान गर्ने कि ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? शालीनतापूर्वक भन्छु तपाईंले मुलुक चलाउन सक्नुभएन राजीनामा दिनुस् ।’

Like