जंगलभित्रै अलमलियो ३६ हात्ती, तीन जिल्लामा बढ्यो त्रास
रासंसा/सुनसरी,
मुलुकमा डेढ महिनाअघि भारतबाट सुनसरी जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जंगली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जंगलमा विचरण गर्दै आएका ती हात्तीबाट जिउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चार जनाको मृत्यु भइसकेको छ । डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताए । उनका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरिएको छ । मोरङको कानेपोखरी जंगल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरू भारततिर नफर्किएको अनुमान गरिएको छ । सडक छेउछाउ र बजारमा पोलेर बिक्रीका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ । मेचीनगर नगरपालिका–४ का हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उनले बताए । हिउँदयाममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठुलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए । बेलबारी नगरपालिका–८ र १० का स्थानीय किसानले ठुलो क्षेत्रफलमा मकै खेतीलगायका छन् । ‘मकै हात्तीले असाध्यै मन पराउँछ,’ डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, ‘मोरङका अन्य पालिकाभन्दा यहाँ मकै खेती प्रशस्त हुने गरेको छ, हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।’ गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययनसमेत गर्दै आएका अभियानकर्मी लुइँटेलले बताए । भारत नफर्किएका २० हात्ती झापा र मोरङकै जंगलमा छारिएर रहेको उनको भनाइ छ । उनले हाल तीन जिल्लामा ६० देखि ६५ हात्ती जंगलभित्र रहेको दाबी गरे । उनले बिहान–बेलुका हिंडडुल गर्दा र जंगल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेका छन् । वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन । मोरङको बेलबारीमा हात्तीले आइतबार बिहान ५ बजे बेलबारी–२ रमितेटोलमा एक घरमा क्षति पु¥याएको छ । स्थानीय जमुना खेबाङको घरमा हात्तीले क्षति गरेको हो । हात्तीले घर भत्काएपछि बिहानै बेलबारी–२ का वडाअध्यक्ष कृष्णबहादुर गुरुङले निरीक्षण गर्दै आवश्यक सहयोग गर्ने बताएका छन् ।
