उपचारको बहाना बनाएर अस्पतालबाट भागेँ, रुसी सेनामा ४ महिना काम गरेर फर्केका युवक भन्छन्
रासंसा/काठमाण्डौ, मार्ग २२,
विश्वमा रुस र युक्रेनबिच युद्ध चलिरहेको अवस्थामा काठमाडौँबाट एक जना युवक २०८० भदौमा रुसतर्फ हानिए । हरितालिका तीजको मुखमा पत्नीको तिलहरी बेचेर रुसतर्फ उड्दै गर्दा उनले सोचेका थिए– रुसको सेनामा भर्ना भएर पैसा कमाउँछु, काठमाडौँमा घडेरी जोड्छु । पायल्सको अप्रेसन गर्नुपर्ने भनेर उनी अस्पतालमा भर्ना भए । अस्पतालबाटै उनी भागेर मस्कोस्थित नेपाली दूतावास पुगेर नेपाल आउने प्रबन्ध मिलाउन सफल भए । रुस जान उनले नेपाल सरकारको जागिर माया मारे । उनी प्रहरीमा कार्यरत थिए । बिचौलियाहरुले लगाइदिएको ‘भिजिट भिसा’ देखाउँदै उनी रुसको राजधानी मस्को ओर्लिए । त्यहाँको सेनामा भर्ना पनि भए । तर, दिनहुँ आँखा अगाडि ग्रिनेड र लन्चर खसिरह्यो । त्यसपछि उनले रुसी सेनाको क्याम्प छाड्ने निधो गरे ।दुबई हुँदै मस्को गएका ती युवकसहित ९ जना गत भदौमा मस्को पुगेका थिए । उनीहरुलाई पठाउने व्यक्ति हुन् शंकर लिम्बू । शंकरलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । रुसी सेनामा भर्ना हुन पठाउने गिरोहमा संलग्न १३ जनालाई हालसम्म पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । नाम उल्लेख नगर्ने शर्तमा ती युवा भन्छन्, ‘रुसी सेनामा भर्ना हुने अधिकांश नेपाली पूर्व सैनिक, सशस्त्र र प्रहरी छन् ।’