प्रधानमन्त्रीको भ्रमणले छुटेका यात्रु अझै अलपत्र

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १५,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको क्रममा छुटेका यात्रु अझै अलपत्र अवस्थामा छन्। फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट काटेकामध्ये ३१ जना यात्रुहरूलाई नेपाल एयरलाइन्सले समय तालिका परिवर्तन गर्दै बुधवार विमानस्थलमा छाडेपछि उनीहरू अलपत्र परेका हुन्। ती मध्ये १० जना यात्रु बिहीवार दुबई पुगेका छन् भने बाँकी २१ जना अझै काठमाडौँमै अलपत्र छन्। प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलको सहजताका लागि नेपाल एयरलाइन्सले बुधवार राति ११ः३० बजेको उडान तालिका रहेको नेपाल एयरलाइन्सको जहाज साढे ९ बजे नै उडाएको थियो। निर्धारित समयभन्दा दुई घण्टा अगावै उडान समय तालिका संशोधन गरेपछि ३१ जना यात्रुहरू दुबई जानबाट रोकिएका थिए। नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नागरिक न्यूजसँग कुराकानी गर्दै बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए। उनले छुटेका सबै यात्रुहरूलाई टिकट दिइसकेको र आज रातिसम्म सबै छुटेका यात्रु दुबईका लागि उडान भरिसक्ने पनि बताए। उनले भने, ‘३१ जनामध्ये केही मात्रै बिहीवार दुबईका लागि उडेका छन्। विमानको समय तालिका अनुसार सिट व्यवस्थापन गरेर केही यात्रुहरूलाई पठाइएको छ। बाँकी रहेका यात्रुहरू आज विभिन्न फ्लाइटमा व्यवस्थापन गरेर पठाउँछौँ।’ जलवायु न्यायका लागि विश्व युवा अभियान्ता प्रज्वलविक्रम राणाले आफ्नो सामाजिक सञ्जालमा बुधवार छुटेका मध्ये १० जना सकुशल दुबई पुगेको लेखेका छन्। उनी पनि प्रधानमन्त्री दाहाल दुबई जाने क्रममा छुटेका यात्रुमध्येका एक हुन्।

Like