महानगर प्रमुख रेनु दाहाललाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता प्रकाउ
रासंसा/चितवन, मार्ग ६,
मुलुकमा भरतपुर महानगरपालिकाकी महानगर प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमामार्फत बद्नाम गराउन खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। महानगर प्रमुख दाहाल र पत्रकार सन्तोष देउजाको फोटो सामाजिक सञ्जालमा राखेर बदनाम गराउन खोजेको आरोपमा मौखिक उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई मंगलवार साँझ नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरतपुर वडा नम्बर ७ का उपभापति उपेन्द्र देवकोटा र शुभचिन्तक रत्ननगर नगपालिकाका–१० का शिव शर्मा रहेका छन्। पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका प्रमुख दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेको उनले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपि पण्डितले जानकारी दिए। ‘मौखिक उजुरीका आधारमा उहाँहरुलाई समातिएको हो। अहिलेसम्म जाहेरी आएको छैन कस्तो आउँछ त्यही अनुसार अनुसन्धान अगाडि बढ्छ,’ पण्डितले भने। शर्माले दाहाल र देउजाको फोटो राखेर रास्वपाका सभापति रवि लामिछानेको खेदो खनेको भन्दै पत्रकार देउजालाई धम्कि दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति कृष्णप्रसाद भुषालले पार्टीका कार्यकर्ताबाट गल्ति भएको स्वीकार गरेका छन्। ‘साथीबाट गल्ती भएको छ। आपसी समन्वयमा के गर्न सकिन्छ,’ उनले भने ‘यस्तो गल्ति गर्नु हुँदैनथ्यो।’