दुर्गममा भूकम्प गएको आठ दिनसम्म पनि पुगेन राहत

Share to:

टिकाराम सिङ/जाजरकोट, कार्तिक २५,

मुलुकमा भूकम्प गएको आठ दिन बितिसक्दा पनि जाजरकोटका दुर्गम गाउँमा अझै राहत पुग्न सकेको छैन। प्रभावितले त्रिपाल समेत नपाउँदा खुला आकाशमा रात बिताउन बाध्य छन्। राहत सामग्री सदरमुकामस्थित विपद व्यवस्थापन समितिको खुला गोदाम, पालिकाका केन्द्र तथा वडा कार्यालयमा थन्किएको छ। यातायातको पहुँच पुगेका बस्तीमा आवश्यक राहत पुगिसकेको भए पनि पर्याप्त नभएको र दुर्गममा भने अझै राहत सामग्री पुग्न नसकेको पीडितको भनाइ छ। दिनप्रति दिन चिसो बढिरहेको भए पनि त्रिपाल तथा लत्ताकपडा नहुँदा स्थानीय समस्यामा परेका हुन्। एकद्वार प्रणालीबाट राहत वितरण गर्ने सरकारी नीति अनुसार दैवी प्रकोप जिल्ला समन्वय समितिले राहत सामग्री बुझेर स्थानीय तहलाई बुझाउने र स्थानीय तहले वडामार्फत पीडितलाई वितरण गर्ने भनिए पनि सम्बन्धित निकायले काम नगर्दा राहत वितरण अस्तव्यस्त र भद्रगोल भएको छ। वितरण प्रणाली व्यवस्थित नहँदा केही ठाउँमा दोहरिएर राहत पुग्ने गरेको र विकटमा अझैसम्म पनि राहत नपुगेको जुनीचाँदे गाउँपालिका-२ का सर्पराज रावतले बताए। जुनीचाँदेको ११ वडा, कुशेका ९ वडा, भेरी र नलगाडका केही वडाहरूमा अहिले पनि राहत पुग्न नसकेको गैरसरकारी संस्था महासंघ जाजरकोटका कार्यवाहाक अध्यक्ष सहदेव बस्नेतले बताए। त्रिपाल मात्र होइन कुनै पनि राहत सामग्री अहिले सम्म वडा नम्बर ११ मा जान नसकेको स्थानीय दानबहादुर परियारले बताए। त्यस वडाका ३ सय बढी परिवार अहिले पनि खुला आकाशमा बस्न बाध्य भएको उनको भनाइ छ। ती वडाहरूमा मानवीय क्षति नभए पनि प्रायः सबै घर चर्किएर बस्न नमिल्ने अवस्थामा छन्। नलगाड नगरपालिकाकै वडा नम्बर ११ मा अहिलेसम्म त्रिपाल समेत पुग्न सकेको छैन। वडा नम्बर ८,९, १०, १२ र १३ मा केही थान मात्र त्रिपाल पुगेको र धेरैजसो पीडितले अहिलेसम्म राहत पाउन नसकेको पीडितहरूले गुनासो गरेका छन्। मानवीय क्षति नभएकै कारण स्थानीय सरकार र दाताको ध्यान पुग्न नसक्दा त्रासका कारण घर बाहिर बस्न बाध्य ६ सय बढी परिवारले अहिले पनि त्रिपाल लगायतका राहत सामग्री पाउन नसकेको वडा नम्बर १३ का स्थानीय लोकजंग शाहीले बताए। त्यस्तै भेरीका वडा नम्बर २, ७, ८ , ९, १०, ११ , १२ र १३ लगायतका वडामा पर्याप्त राहत नपुग्दा समस्या भएको छ। राहत पाएकाले पनि सानो त्रिपाल पाउँदा समस्या भएको छ। उनीहरूको सामान राख्न र सुत्न समस्या भएको भेरी नगरपालिका ११ का ज्ञानीप्रसाद शर्माले बताए। दाताहरूले दिएको राहत सामग्री भने नगरपालिकामै थन्किएको छ। नगरप्रमुख डम्बर बहादुर रावतले भने, ‘पहिला मानवीय क्षति भएको ठाउँतिर राहत केन्द्रित गर्‍यौं अब सबै ठाउँ पुर्‍याउँछौं। सहयोग आइरहेको छ तर अझै पर्याप्त हुन सकेको छैन।’

Like