बागमती सरकार र भरतपुर महानगरले गौतम बुद्ध क्रिकेट रंगशालामा लगानी गर्ने

Share to:

रासंसा/मकवानपुर, कार्तिक २०,

मुलुकमा चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको छ। सहमतिअनुसार गौतम बुद्व क्रिकेट रंगशाला निर्माणका लागि ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा बसेको बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीचको बैठकले उक्त रंगशाला निर्माणका लागि संयुक्त लगानी गर्ने सहमति भएको हो। बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋणसम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ। उनका अनुसार भरतपुर महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्वावअनुसार काम सुरु गरिने भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलका अनुसार बैठकले तत्काल ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने निर्णय गरेको छ। महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले जानकारी दिए। उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्तावअनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र उक्त लागत रकमको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको हो।

Like