सडक सञ्जालले जोडियो मुस्ताङ-डोल्पा
रासंसा/डोल्पा, कार्तिक १९,
मुलुकमा हिमाली जिल्ला मुस्ताङ र डोल्पा सडक सन्जालले जोडिएको छ। मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सीमानामा गत साता ट्र्याक्टर पुर्याएपछि मुस्ताङ र डोल्पा सडकको ट्र्याक खुलेको हो। मुस्ताङ–डोल्पा सडकको ४६.५ किलोमिटर सडकको ट्र्याक ६ महिनाअघि ‘ओपन’ भइसकेकोमा त्यसयता करिब १० किलोमिटरको जोखिमयुक्त पहाडको चट्टान काटेर मुस्ताङ-डोल्पा सडकको ट्र्याक ओपन गरिएको हो। गत वर्ष नयाँ ट्र्याक ओपन गर्न मन्त्रालयले ३ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। चालु वर्ष नयाँ ट्र्याक खोल्न मन्त्रालयले २ करोड रुपैयाँ बजेट छुट्याएको थियो। मुस्ताङ-डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्र्याक ओपन गर्नका लागि सिखा इन्जिनियरिङ र पम्फा जेभी कन्टक्सनले जिम्मा पाएका थिए। सरकारले गण्डकी प्रदेशको मनाङ-मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा-मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्र्तगत २०७५/७६ सालदेखि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणलाई अघि बढाएको थियो। मुस्ताङ-डोल्पा सडकका लागि आधा दर्जन प्याकेजमा विभिन्न निर्माण कम्पनीले नयाँ ट्र्याक खोल्ने र सडक स्तरोन्नतिको जिम्मा लिएका थिए। मुस्ताङ डोल्पा सडकका लागि नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत डिभिजन सडक कार्यालय बाग्लुङले अख्तियारी प्राप्त गरेको थियो। सडकका लागि २० करोड रुपैयाँ लगानी भइसकेको छ। उता उपल्लो डोल्पाको छार्का ताङसुङ गाउँपालिकाले मुस्ताङतर्फ जोड्न सडक ट्याक खोल्ने काम गरेको थियो। मुस्ताङ-डोल्पाको सामुहिक प्रयासबाट हिमाली जिल्ला डोल्पा र मुस्ताङ ४ वर्षपछि सडक सन्जालले जोडिएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए। डोल्पाबाट मुस्ताङतर्फ सडक ट्र्याक जोड्न छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले पहल गरेका थिए। यता सडक डिभिजन कार्यालयले सडक निर्माणलाई अघि बढाएको वडाध्यक्ष गुरुङको भनाइ छ। मुस्ताङ-डोल्पा सडक समुद्री सतहको ४५ सय मिटरको अग्लो उचाई माथिबाट सडक विस्तार गरिएको हो। हिमाली क्षेत्रका ४ जिल्लाका बासिन्दालाई यातायातको सुविधा, मालसामान ढुवानी र पर्यटकीय मार्गलाई सहजता प्रदान गर्न सहज हुने वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गरे। सडक नहुँदा उपल्लो डोल्पाका बासिन्दालाई मुस्ताङ आएर मालसामान ढुवानी गर्न हप्ता दिन लाग्थ्यो। सडक विस्तारसँगै अब एकैदिन डोल्पा आउजाउ गर्न सकिने छार्का ताङसुङ गाउँपालिकाका अध्यक्ष गुरुङले बताए। उनले उपल्लो डोल्पाका बासिन्दालाई सदरमुकाम दुनैभन्दा नजिकको दुरी मुस्ताङको जोमसोमबाट मालसामान ढुवानी गर्न नजिक पर्ने अध्यक्ष गुरुङको भनाइ छ। मुस्ताङ–डोल्पा सडक ट्र्याक एकआपसमा जोडिएसँगै दुवै सीमावर्ती क्षेत्रका जनप्रतिनिधि र स्थानीयबासी खुसी भएका वडाध्यक्ष गुरुङले बताए। मुस्ताङ र डोल्पाको सीमाना सेटाङथाङसम्म दुबैतीरका ट्र्याक्टर मालसमान ढुवानी गरी गन्तब्यमा पुगेको छन्। गत साता सडक सडक सन्जालले जोडिएपछि उपल्लो डोल्पास्थित छार्का ताङसुङका वडाध्यक्ष धवालवाङ गुरुङले निर्माण कम्पनीका उपकरण अपरेटर, मुस्ताङका प्रतिनिधि र डोल्पास्थित छार्का ताङसुङको अध्यक्ष सेनाङ गुरुङलाई सम्मान गरेका थिए।