आमा ‘निर्मला देवी’ छोरीको न्यायका लागि लडिरहेकी छिन

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १८,

मुलुकमा सबैले खुसीका साथ दसैँ मनाए। अब आउँदै गरेको तिहार मनाउने तरखरमा छन्। छोरीको न्याय माग्दै माइतिघरमा अनसन बसेकी निर्मला देवी साहलाई न दसैँ लाग्यो न तिहारको तयारी नै। छोरीको न्यायको लागि उनी १४१ दिनदेखि माइतिघरमा अनसन बसिरहेकी छिन्। छोरीले आत्महत्या नभएर हत्या भएको निर्मला देवीको आरोप छ। ‘पैसा खाएर’ अस्पतालले पोस्टमार्टम रिपोटै नै गलत निकालेको उनको आरोप छ। पोस्टमार्टम रिपोर्टमा आरती झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने उल्लेख छ। रिपोर्टमा गालामा रहेको चोट भित्री भागसम्म भएको पनि लेखिएको छ। तर, शरीरका अन्य भागको चोटबारे केही उल्लेख छैन। निर्मलादेवीले पोस्टमार्टम रिपोर्ट नै बङ्ग्याइएको दाबी गर्छिन्। माइतिघरको चिसो सडक त्यसमाथि ओच्छाइएको एउटा म्याट त्यहि बसेर बितेको छ साहका दिनरात। निर्मलाकी छोरी २२ वर्षीय आरती साहको ६ जेठमा मृत्यु भएको थियो। करिब २ वर्षअघि धनुषाकै मोतीबाबु साहसँग आरतीको विवाह भएको थियो। आरतीले आत्महत्या गरेको परिवारले बताएको छ तर निर्मला देवी सो कुरा मान्न तयार छैनन्। यता प्रहरीले समेत मिलेर घटना बङ्ग्याइएको निर्मला देवीको आरोप छ। छोरीको न्याय माग्दा प्रहरीले आफूहरुमाथि निरघात कुटपिट गरेको उनको आरोप छ। उनी अनसन बसेको केहि दिनमै गृहमन्त्री नाराणकाजी श्रेष्ठसंग पनि भेटेको थिइन्। भेटमा श्रेष्ठले ८ दिनभित्र घटनाको सत्यतथ्य बाहिर ल्याएर न्याय दिने आश्वासन दिएका थिए। तर महिनौं बित्यो गृहमन्त्री श्रेष्ठबाट केहि प्रतिक्रिया नआएको उनको भनाइ छ। राजनीतिक दलका स्थानीय नेताहरुले भने मुद्धा र्फिर्ता लिएर सहमति गर्न दबाब दिएको निर्मलादेबी बताउँछिन्। मोतीबाबुले दाइजो माग गरेका थिए त्यो दिन नसक्दा हत्या गरेको निर्मलादेवी बताउँछिन्। उनी भन्छिन्, ‘विवाहमा १६ तोला सुनको गरगहना १६ तोला चाँदी र फर्निचरका सामग्री दाइजोको रुपमा दिएका थियौं। त्यसपछि उनीहरुले थप दाइजो दराज र मोटरसाइकल मागेका थिए। दिन नसक्ने बताएपछि यातना दिन थालेको छोरीले भन्ने गरेकी थिइन।’ यसबीच असार ५ गते धनुषा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले कर्तव्य ज्यान मुद्दामा आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। निर्मलादेवीको अनसनमा संगसंगै छिन अर्की छोरी मनिषा साह। मनिषा अहिले स्नातक तहमा अध्ययन गरिरहेकी छिन्। दिदिको न्यायको लागि मनिषा सुरुदेखि नै आमाको साथमा छिन्। मनिषा भन्छिन्, ‘दिदिको न्यायको लागि सुरुदेखि नै लडिरहेकी छु। काठमाडौं आएर बसेको नै महिनौं भइसक्यो। आफ्नो अध्ययन कता हो घरपरिवार कता। तर हार मानेका छैनौं। दिदिले न्याय पाउछे भन्ने विश्वास छ।’ तर, उक्त आदेश विरुद्ध उच्च अदालत जनकपुरले गत असोज १८ गते उनीहरूलाई तारेखमा छाडिदिएको छ। त्यसपछि भने निर्मलादेवीको आशा अब सर्वोच्च अदालत माथि छ। निर्मलादेवी भन्छिन्, ‘अब सर्वोच्चले न्याय दिन्छ की भन्ने आश छ। सर्वोच्चले पनि न्याय दिएन भने सर्वोच्च अगाडि नै गएर अनशन बस्छु। छोरीले न्याय नपाएसम्म घर जादिन।’ निर्मलादेवीको परिवार खेती किसानी गर्दै आइरहेको छ। आरती विनोद प्रसाद र निर्मलादेवी साहकी जेठी छोरी हुन्। २० वर्षीया आरती बीबीए दोस्रो वर्षमा पढ्दै गर्दा मोती बाबुसँग दुई वर्षअघि २०७८ असार २९ मा मागी विवाह भएको थियो। विनोद प्रसाद र निर्मलादेवीको अब एक छोरा र एक छोरी रहेका छन्।

Like