प्रधानमन्त्रीले नै हड्ताल गरिन् महिलाको तलबमा असमानताको विरोधमा

Share to:

एजेन्सी,

आइसल्यान्डकी प्रधानमन्त्री हड्तालमा उत्रेपछि अहिले चर्चाको विषय बनेको छ। विश्वको इतिहासमै सम्भवतः पहिलोपटक होला जब कुनै देशको प्रधानमन्त्री नै हड्तालमा उत्रेको छ। मुलुकमा महिलाको तलबमा असमानता र लैङ्गिकतामा आधारित हिंसाको विरोध गर्दै उनीहरू हड्तालमा उत्रेको बीबीसीले जनाएको छ। युरोपको सानो देशको रुपमा रहेको आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिन याकब्सडटिरसमेत हजारौँ महिला एक दिनका लागि हड्तालमा उत्रेका हुन्। प्रधानमन्त्री क्याटरिनसहित हजारौंको सङ्ख्यामा महिलाहरू २४ अक्टुबरका दिन ‘वुमन्स डे अफ’ मा थिए। उनीहरूले एकदिन काम नगरेर विरोध जनाएका हुन्। हड्तालमा सहभागी भएकी आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिनले भनिन्, ‘म आज काम गर्दिन र मलाई आशा छ की क्याबिनेटमा रहेका सबै महिलाले यसलाई समर्थन गर्दै उहाहरूले पनि यस्तै गर्नुहुनेछ।’ आइसल्यान्डमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने अधिकांश महिलाहरू असमान तलब र लैङ्गिकतामा आधारित हिंसाका कारण प्रभावित छन्। उनीहरूले घरको कामदेखि अन्य सबै प्रकारको काम नगर्ने भन्दै विरोध जनाएका हुन्। आइसल्यान्डको टीचर्स यूनियनका अनुसार शिक्षा क्षेत्रमा हरेक स्तरमा महिलाको सङ्ख्या बढी छ। जसमा ९४ प्रतिशत किन्डरगार्टेनमा काम गर्छन्। त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि महिलाको सङ्ख्या नै बढी छ। आइसल्यान्डको सबैभन्दा ठूलो अस्पताल नेशनल यूनिभर्सिटी हस्पिटलमा काम गर्ने कर्मचारीमध्ये ८० प्रतिशत महिला छन्। बीबीसीका अनुसार हड्ताल आयोजक क्रिस्टिनले आइसल्यान्डमा लैङ्गिकतामा समानता बढेपनि लैङ्गिकतामा आधारित हिंसाका घटना महिलाविरुद्ध हुने ठूलो समस्या रहेको बताइन्।

Like