मुस्लिम समुदायका अगुवाहरुले बाँकेमा मनाए दसैँ
रासंसा/बाँके, कार्तिक ८,
मुलुकमा सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन् । मङ्गलबार हिन्दूहरुको महानपर्व बडादसैँका अवसरमा मुस्लिम अगुवाहरुले दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका हुन् । मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर रमाउने गरेको राससलाई बताए । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुबै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ ।
बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैंको टीका र जमरा लगाएका हुन्। उनले दसैं तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैं यसरी नै मिलेर मनाउने गरेको बताए। “हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूहरुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,’ उनले भने, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरु खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने ?’ सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका हुन्। उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिए। सिद्धिकी वर्षौँदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आएका छन् । पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उनको भनाइ छ । हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताए। बडादसैंका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैंको शुभकामना दिए। एकताका र सद्भावका लागि दुबै समुदायका धर्म गुरुले संयुक्तरुपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरे। अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंमा टीका र जमरा लगाएर आशीर्वाद लिएका छन् । रहमान मियाँले दुबै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए।