माओवादी नेतासँग ज्वाइँ बनेका दावाको सिधा सम्पर्क
रासंसा/काठमाण्डौ, श्रावण १६,
मुलुकमा राजस्व अनुसन्धान विभागले आइतबार बिहान सुन तस्करीको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका माथिल्लो तहका नेताहरूसँग उठबस देखिएको छ। लामो समयदेखि परिवारका सदस्यकै रूपमा उनको उठबस भएको देखिएको हो। रोल्पाकी अमला रोकासँग दावाको वैवाहिक सम्बन्ध गाँसिएपछि माओवादी नेतासँग उनी निरन्तर जोडिएका देखिन्छन् । यसैगरी माओवादीका अर्का नेता एवं उपमहासचिव वर्षमान पुन र उनको परिवारसँग पनि दावा जोडिएका तस्बिर सार्वजनिक भएका छन्। सो तस्बिर धेरै वर्षअघिको भएको र अमला रोकाले ज्वाइँ भेट्टाउन ल्याउँछु भनेपछि मात्रै भेटघाट भएको बताउँदै वर्षमानले दावाको कारोबारमा आफ्नो कुनै सरोकार र साथसहयोग नभएको दाबी गरे । पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिन्छन्। दावाले पुनको घरमा पुगेर भेटघाट गरेका, पारिवारिक रूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन्। पूर्वराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिन्छन्। दावाले पुनको घरमा पुगेर भेटघाट गरेका, पारिवारिक रूपमा सँगै खाना खाएका तथा विभिन्न स्थानमा घुम्न गएका, तिहारमा भाइटीका लगाएका तस्बिर सार्वजनिक भएका छन्। अमला रोकाले ज्वाइँ बनाएर ल्याएका दावाले माओवादी नेताहरूलाई कसरी र किन आफ्नो बनाउन सके भन्ने खुलेको छैन। उनले रोल्पाली नेताहरूसँग राम्रो सम्बन्ध बनाएर निरन्तर विभिन्न अपराध कर्म गरिरहेको देखिन्छ। अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ, अश्लील भिडियो देखायने र ‘लोन’(ऋण) एपमार्फत अवैध असुली गर्ने कार्यमा संलग्न रहँदै आएका उनी माओवादी नेताको साथ नपाएको भए पाँच वर्षअघि नै कानुनको फन्दामा परिसक्थे। तर तत्कालीन नेकपामा शक्तिशाली नेताहरूले उनलाई प्रहरीको नियन्त्रणमा पर्नबाट जोगाएका थिए। दावाको अपराध २०७६ सालमै खुले पनि प्रहरीले उनलाई छुन सकेको थिएन। २०७० सालदेखि अमलासँग नजिकिएका दावाले २०७४ सालमा त्यसलाई वैवाहिक सम्बन्धमा परिणत गरे। त्यसपछि बिस्तारै उनी रोल्पाली माओवादी नेतासँग नजिकिएका थिए। प्रहरीले काठमाडौंबाट १२२ जना चिनियाँलाई अनलाइन ग्याम्बलिङ, म्याच फिक्सिङ र अश्लील भिडियो देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुलेको आरोपमा पक्राउ गर्दा उनी सजिलै भागेका थिए। ‘त्यतिबेला हामीले उनको निगरानी गरेका थियौं तर १२२ जना चिनियाँ नागरिकलाई बुझाएपछि अनुसन्धानको पाटो अन्त्य गर्न निर्देशन आएको थियो। त्यसकारण अनुसन्धान अघि बढ्न सकेन,’ तत्कालीन एक अनुसन्धान अधिकृतले भने। सय किलो सुन बरामद भएपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको छ। त्यति मात्र होइन, बुहारी जुनाले दावालाई भाइटीका लगाएको तस्बिर पनि बाहिरिएको छ। जसले गर्दा उनीहरूको सम्बन्ध पारिवारिक रहेको देखिन्छ। पूर्वराष्ट्रपति पुनका जेठा छोरा अमेरिका पुगेका छन्। तीन महिनाअघि उनी किन र कसको खर्चमा अमेरिका पुगे भन्ने पनि खुलेको छैन। ‘जितेन्द्र दावाकै खर्चमा अमेरिका गएका हुन्,’ स्रोतले भन्यो। अमलासँग सम्बन्ध जोडिएपछि दावाले २०७४ पुस २० गते निमा तामाङका नामबाट काभ्रेको नमोबुद्ध ठेगाना राखेर नेपाली नागरिकता लिएका थिए। २०७४ सालमै राहदानीसमेत लिएका उनी नक्कली नेपाली हुन्। यो विषयमा नेपाल प्रहरीको विशेष ब्युरोले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन। दावाले बेल्जियमको पासपोर्ट भने दावा छिरिङकै नाममा लिएका छन्। त्यसमा ठेगाना तिब्बतको लिथाङ उल्लेख छ। यसरी हेर्दा उनीहरूको सम्बन्ध गहिरो देखिन्छ। दीपेश पुनले पनि आफूहरूबीच भेटघाट र चिनजान भएको स्विकारेका छन्। ‘अमला थावाङकै भएकाले उहाँसँग चिनजान र भेटघाट हुनु सामान्य हो तर उहाँहरूको कर्मबारे हामीलाई जानकारी छैन, त्यसमा हाम्रो परिवारको कुनै सहयोग र लुकाउने कार्य भएको छैन,’दीपेश पुनले नागरिकसँग भने। नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क समन्वय समिति उपाध्यक्ष भएकै कारण अमलाले नेताहरूसँग सहज पहुँच बनाएकी थिइन्। उनले विद्यार्थी राजनीतिमा चल्तापुर्जा रहेका दीपेश पुनसँग दावालाई निकट बनाइदिइन्। माओवादी केन्द्रका नेता–कार्यकर्ताहरूको जमघट गर्ने केन्द्र बन्दै गएको होटल भियाना उनै अमलाका नाममा दावाले खोलेका थिए। २०७४ सालसम्म सामान्य व्यापारी रहेकी अमलालाई होटल खोल्ने र यति धेरै लगानी गर्ने आर्थिक स्रोत कहाँबाट आयो भन्ने केही खुल्दैन। उनले ठमेलमा होटल खोलेपछि माओवादीनिकट कार्यकर्ताहरूको आउजाउ बढेको छ। थवाङमा केही कार्यक्रम गर्ने भन्दै शनिबार दिउँसो मात्रै अमलासहितको एक टोली पूर्वउपराष्ट्रपति निवास पुगेको थियो। टोली त्यहाँबाट फर्केको रात राजस्व अनुसन्धान विभागले होटल भियनामा छापा मारेको थियो। शनिबार रातिदेखि छापा मारेको विभागको टोलीले आइतबार बिहान दावालाई नियन्त्रणमा लिएको थियो। दावाको विषयमा तिब्बती मूलका भारतीय नागरिक थुप्तेन शेर्पाले बयान दिएपछि विभागको टोली होटल भियाना पुगेको थियो। ‘थुप्तेनकै बयानका आधारमा भियनामा छापा मारिएको र दावालाई पक्राउ गरिएको हो,’ विभाग स्रोतले भन्यो। ठमेलमा उहाँको एउटा होटल छ। त्यस होटलमा रोल्पाका माओवादी नेता–कार्यकर्तहरूको जमघट हुने गर्छ। त्यस्तो जमघटको आयोजना पनि अमलाले नै गर्ने भएकाले त्यहाँ कहिलेकाहीँ हामी जानु स्वाभाविक हो। तर अहिले प्रचार गरिएजस्तो सुन काण्डमा हामीले जोगाएको र दावाका काममा सहयोग गरेको जस्ता आरोप निराधार हुन्। राज्यले दावालाई पक्राउ गरेको छ। यस्तो विषयमा जोसुकै भए पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो धारणा छ। अनुसन्धान गर्ने राज्यको दायित्व भएकाले निष्पक्ष अनुसन्धान होस् भन्ने हाम्रो चाहना छ। अपराध कर्ममा जोकोही जोडिए पनि कारबाहीको भागीदार हुनैपर्छ। बुबा पहिला थवाङमा पढाउनुहुन्थ्यो। त्यतिबेलाबाटै हाम्रो परिवार र थवाङवासीबीचको सम्बन्ध विशेष खालको छ। माओवादी ‘जनयुद्ध’को समयमा थवाङवासीले पुर्याएको योगदानलाई हाम्रो पार्टीले भुलेको छैन। त्यसक्रममा अमला पनि थवाङकै भएको, सहिद परिवारको पनि भएको, रोल्पा काठमाडौं सम्पर्क मञ्चको नेता पनि भएको हुँदा उहाँको परिवार र हाम्रो परिवारबीच भेटघाट हुने गरेको सत्य हो। तर उहाँहरूको व्यापार–व्यवसायबारे हामी जानकार छैनौं।