सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेन सहमति
रासंसा/काठमाण्डौ, चैत्र २५,
मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुङ्गिने स्पष्ट पारेका छन् । शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानुपर्ने बताएका हुन् । यता बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुङ्गो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताए । उनले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउने भन्ने बारेमा छलफल भएको बताए । उनले छलफलमा संसद्लाई गतिशील बनाउने कुरामा छलफल भएको बताए । उनले भने, ‘सदनका काम कारबाहीहरूको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ । दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’ उनले भने, ‘सदन भित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउन छलफल भयो, सैद्धान्तिक रूपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरू पनि बसेर २८ गतेको बैठकले टुङ्ग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाहरूले फास्ट ट्र्याकबाट टुङ्ग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’ सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताहरुबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताए । शनिवार सिंहदरबारस्थित कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठक पछिल्लो समय तीन राजनीतिक दलका नेताहरुबीचमा सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गरी बोलाइएको जानकारी दिए । प्रधानमन्त्री दाहालले सरकार पक्षधर राजनीतिक दलहरूले भने सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्र्याकबाट नै टुङ्ग्याउने पक्षमा रहेको बताए । उनले भने, ‘सहमति र विमति भन्दा पनि नेताहरूको बीचमा आपसमा बसेर सामूहिक विषयमा कुराकानी भएको थिएन, सामान्य कुराकानी गराउन पहल भएको छ, सामान्य कुराकानी भएको छ ।’ सभामुख घिमिरेले नेताहरुबीच सामूहिक विषयमा छलफल भएको बताए ।
