अन्य थपमुख्य समाचारराजनीतिविश्वसंचारसमाचारस्पेसलहेडलाइन

बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान

Share to:

एजेन्सी,

मुलुकमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् । पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए । उनका अनुसार पुर्नर्वास–११ को गङ्गा जमुना सामुदायिक वन क्षेत्र, सोहीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३ को सामुदायिक वन क्षेत्र र बेलौरी–२ को थापाचोक नजिक स्वाचालित क्यामेरा जडान गरिएको छ । यी क्षेत्रमा केही दिनअघि गाउँ नजिकै बाघ देखिएको थियो । चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुर्नर्वास–१० मदनटोलकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । “पछिल्लो केही दिनयता बाघको बिगबिगी भयो, बस्ती नजिकै बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरेका छौँ”, उनले भने, “अहिले बाघ देखिएको ठाउँमा क्यामेराले निगरानी गरिरहेका छौँ, एक साता हेर्छौं कस्तो नतिजा आउँछ, नभएपछि अर्को ठाउँमा क्यामेरा सार्छौं ।” एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो । पुर्नर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना हुनु र त्यसयता गाउँबस्ती नजिकै बाघ देखिन थालेपछि स्थानीय त्रसित छन् । उनीहरु त्रासले रातभर जाग्राम बस्न बाध्य छन् । अहिले पर्याप्तमात्रामा क्यामेरा नहुँदा बाघ देखिएको क्षेत्रमा मात्रै तीन क्यामेरा जडान गरिएको छ । एक साता ती क्षेत्रको अनुगमनपछि अन्यत्र ठाउँमा पनि बाघको निगरानीका लागि तिनै क्यामेरा सारिने उनले बताए । पुर्नर्वासको सीमासँगै जोडिएको भारतको दुधुवा नेशनल पार्कबाट बाघ नेपालतर्फ बस्ती पस्ने गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको सहायक वन अधिकृत यादवले बताए । “गाउँ नजिकै बाघ देखिएपछि स्थानीयमा त्रास छ, बाघ एउटै ठाउँमा बस्दैन, त्यही पनि एक साता क्यामेराले निगरानी गरेपछि त्यो क्षेत्रमा बाघ छ वा छैन भन्ने निक्र्यौल हुन्छ”, उनले भने, “त्यसले स्थानीयको त्रासलाई केही हदसम्म कम गर्नेछ ।”

Like