प्रदेश-४ [गण्डकी]समाचारहेडलाइन

तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु, श्रीमति र एकजना घाइते

Share to:

​तनहुँ, ३१ भदौ २०८३:
तनहुँको शुक्लागण्डकी नगरपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। घटनामा परेर मृतककी श्रीमती र छुटाउन जाने एक छिमेकी घाइते भएका छन्।
​प्रहरीका अनुसार, शुक्लागण्डकी नगरपालिका–९ घारी स्थायी घर भई हाल वडा नं. ४ दुलेगौडास्थित पञ्चमुनी स्कुलअगाडि बद्री श्रेष्ठको कच्ची घरमा डेरा गरी बस्ने ४५ वर्षीय खड्क बहादुर गौतमलाई आफ्नै कोठामा अचानक करेन्ट लागेको थियो।
​घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उपचारका लागि जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा पठाएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले राति ११:२२ बजे उनलाई मृत घोषणा गरेका थिए। कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।
​श्रीमती र उद्धारकर्ता घाइते
मृतक खड्क बहादुरलाई करेन्ट लागेको समयमा छुटाउने क्रममा शुक्लागण्डकी–४ दुलेगौडा बस्ने ६५ वर्षीय डिल बहादुर सार्की पनि करेन्ट लागेर घाइते भएका छन्। उनको उपचारका लागि गण्डकी अस्पताल, पोखरा लगिएको छ।
​त्यसैगरी, सोही दिन राति ११:५५ बजे मृतककी ४१ वर्षीया श्रीमती पार्वती गौतमलाई पनि करेन्ट लागेको छ। उनको दाहिने हातको बुढी औंलामा चोट लागेको र अवस्था मध्यम भएपछि थप उपचारका लागि राति १२:५० बजे गण्डकी अस्पताल पोखरा रिफर गरिएको थियो। उनी हाल डिस्चार्ज भइसकेकी छन्।
​घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Like