गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण २५,

मुलुकमा नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मत प्राप्त गरेका हुन्। पौडेलका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरे। उनीहरुबीचको मतान्तर १८ हजार २८४ रहेको छ। निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम घोषणा गरेपछि पौडेललाई विजयी भएको प्रमाणपत्रसमेत प्रदान गरेको छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन्। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ। निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा मतदान गरेका थिए। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन्। राष्ट्रपतिमा चौथो कार्यकालका लागि आज निर्वाचन भएको हो। यस अगाडि तीन पटक राष्ट्रपति निर्वाचन भइसकेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालमा पनि निर्वाचित भएकी थिइन्। भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी राईले ११ हजार ७३० मतभार पाएकी थिइन्। २०७२ कात्तिक ११ गते भण्डारी प्रथम महिला राष्ट्रपति बनेकी हुन्। यसैगरी पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए। तत्कालीन संविधानसभाका कुल सदस्यबाट बहुमत प्राप्त गरी २०६५ सालमा साउन ८ गते उनी विजय भएका हुन्। तत्कालीन सबैभन्दा ठूलो दल नेकपा (माओवादी) का उम्मेदवार रामराजा प्रसाद सिंहलाई हराएर यादवले जितेका थिए। यादवलाई एमालेसहित विभिन्न साना दलहरूले समर्थन थियो।

Like