राप्रपाका मन्त्रीहरुले दिए राजीनामा
रासंसा/काठमाण्डौ, फाल्गुण १३,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले पदबाट राजीनाका दिएका छन्। पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएसँगै अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्। राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालेका थिए। त्यस्तै नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री थिए।
राप्रपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। शुक्रबार सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।