नयाँ चिनियाँ राजदूत छन् सोङ आइतबार आउँदै
रासंसा/काठमाण्डौ, पौष २२,
मुलुकमा नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस २४ गते आइतबार काठमाडौं आउने भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आउन लागेका हुन्। यसअघि उनी १२ पुसमा काठमाडौं आउने तालिका थियो। चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नयाँ चिनियाँ राजदूत पर्सी आइतबार नेपाल आउने पुष्टि गरे। उनका अनुसार नेपाल आएपछि नयाँ चिनियाँ राजदूत केही दिन क्वारेन्टीनमा बस्नेछन्। नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्। उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्। त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँचजना डेपुटी डाइरेक्टर जनरलमध्ये छन्लाई नेपालको राजदूतमा नियुक्ति गरेको हो।