देउवाले डडेल्धुराका ७ वटै स्थानिय तहमा हुने सभामा सम्बोधन गर्ने
रासंसा/डडेल्धुरा, कार्तिक १६,
मुलुकका प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट चुनावी आससभाको सुरुवात गर्ने भएका छन् । देउवा बिहिबार गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कात्तिक १७ गते देखि २० गते सम्म उनी गृह जिल्लामै रही सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुरा सचिव शेर भण्डारीले जानकारी दिए । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा देउवाले सबै स्थानीय तहहरुमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव भण्डारीले जानकारी दिए । देउवाले डडेल्धुराबाट नै चुनावी आमसभालाई सम्बोधन गरेर आमसभाको सुरुवात गर्ने पनि उनले जानकारी दिए । निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै चुनावी सभा गर्न भनेको थियो । १७ गते पहिलो दिन गृह जिल्ला पुगेर चुनावी सभाको सरुवात गर्न लागेको उनले बताए । देउवाले १८ गते विहान नवदुर्गा गाउँपालिका–२ को खुनी र दिउसो गन्यापधुरा गाउँपालिका–२ को बडाल, १९ गते विहान अजयमेरु गाउँपालिका–३ को भद्रपुर र दिउसो भागेश्वर गाउँपालिका–२ को रुपाल तथा २० गते आलिताल गाउँपालिका–८ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए । २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै आएका देउवाले पहिलो पटक कम्युनिष्टको पनि साथ पाएका छन । आसन्न निर्वाचनमा उनी विरुद्ध कम्युनिष्ट पार्टीको उम्मेदवारी परेको छैन । २०६४ साल देखि २०७० र २०७४ सालमा गरि तीन पटक नेकपा माओवादी र बाम गठबन्धनबाट समेत देउवा संग चुनाव लडेका खगराज भट्ट आसन्न निर्वाचनमा लोकतान्त्रि बाम गठबन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका छन् भने प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले देउवा विरुद्ध उम्मेदवारी दर्ता गराएको छैन । यी सबै चुनावी सभालाई सुदूरपश्चिम प्रदेशसभा (क) का उम्मेदवार खगराज भट्ट र (ख) का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी गरिएको नेपाली काँग्रेस डडेल्धुराले जानकारी दिएको छ । अहिले देउवाको प्रचारमा माओवादी केन्द्र, जनमोर्चा र एकिकृत समाजवादीका नेताहरु पनि लागेका छन् । देउवा विरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका कांग्रेस बीपीका कर्ण मल्ल, राप्रपाका गोबिन्द खडायत, जसपाका श्याम सिनाल, नेकपा एमालेका बागी बिक्रम शाही, स्वतन्त्र उमेदवार सागर ढकाल र कर्ण सिंह रावल गरि सात जना उमेदवार चुनावी मैदानमा रहेका छन् । प्रधानमन्त्री देउवाको सुरक्षा व्यवस्था त्रुटिपूर्ण रुपमा मिलाईएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनी डडेल्धुरा बस्दा आवश्यक सुरक्षा व्यवस्था मिलाईएको उनको भनाई छ । ‘गृह मन्त्रालय मार्फत प्रधानमन्त्री ज्यू डडेल्धुरा आउने खबर प्राप्त भएको छ ।’ उनले भने, ‘प्रधानमन्त्री ज्यूको सबै सुरक्षा व्यवस्था हामिले त्रुटिपूर्ण ढंगले मिलाएका छौ ।’